• २१ जेठ २०८१, सोमबार

चन्द्रागिरि केबलकारमा फसेका यात्रुको उद्धार

blog

काठमाडौँ, असार २३ गते । चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए । 

यस घटनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारको डिब्बाभित्रै करिब एक घण्टा अड्किनुभएको थियो । अध्यक्ष तिमिल्सिना भाइ र परिवारसहित घुमघामका लागि चन्द्रागिरि पुग्नुभएको र सोही क्रममा केबलकार बन्द भएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । परिवारसहित छुट्टी मनाउन चन्द्रागिरि पुग्नुभएका तिमिल्सिनाको परिवार बिहीबार फर्किने कार्यक्रम छ ।

केबलकार बन्द भएपछि बीचमा अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेसनसम्म पु-याउने प्रयास गरिएको थियो तर आन्तरिक विद्युत् प्रणालीले काम नगरेपछि झन्डै एक घण्टा यात्रु बीचमा अड्किएका थिए । झन्डै एक घण्टाको प्रयासपछि वैकल्पिक ऊर्जाबाट केबलकार विस्तारै सञ्चालन गरी स्टेसनसम्म पु-याइयो तर त्यसपछि पनि पुनः केबलकार बन्द भयो ।  

केबलकार नचलेपछि चन्द्रागिरिको डाँडामा पुगेका यात्रुलाई सकुशल उद्धार गर्न एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चिकित्सक तथा नर्ससहित उद्धार टोली परिचालन गरिएको छ । केबलकार नचल्दा चन्द्रागिरिको डाँडामा ४३६ यात्रु फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले चन्द्रागिरिको डाँडामा फसेका यात्रुलाई मकवानपुरको चित्लाङ हुँदै उद्धार गरिएको जानकारी दिनुभयो ।

केबलकारको माथिल्लो स्थानमा रहेका बालबालिका तथा वृद्ध यात्रुलाई वैकल्पिक ऊर्जाबाट विस्तारै केबलकार सञ्चालन गरी तल्लो स्टेसनसम्म ल्याइएको थियो । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा  बुधबार विद्युत् आपूर्ति नियमित रहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले प्राधिकरणका कारण त्यस्तो समस्या नआएको दाबी गर्दै यसरी आन्तरिक रूपमा आइपर्ने समस्याका लागि कम्पनीहरू नै जिम्मेवार हुने बताउनुभयो । 

चन्द्रागिरि हिल्सका महाप्रबन्धक सञ्जीव थापाले केबलकार पूर्ण रूपमा स्वाचालित भएकाले कतिपय अवस्थामा सामान्य प्राविधिक समस्या देखिए पनि बन्द हुने गरेको बताउनुभयो । थापाले भन्नुभयो, “आज केही बेर केबलकार बन्द भएको हो, वर्षा भइरहेकाले टावरसम्म पुगेर प्राविधिक समस्या बुझ्न केही समय मात्र लागेको हो ।” उहाँले केबलकारमा त्यस्तो कुनै गम्भीर प्राविधिक समस्या नभएको दाबी गर्नुभयो ।

केबलकारमा यसअघि पनि प्राविधिक समस्या आउने र बन्द हुँदा यात्रु केबलकारमा अलपत्र पर्ने गरेका छन् । यसअघि २०७८ चैत १६ गते पनि  प्राविधिक समस्या आएर केबलरकार बन्द भएपछि पाँच बालबालिकासहित ३७ जना यात्रुको झन्डै तीन घण्टापछि उद्धार गरिएको थियो ।