• १० पुस २०८१, बुधबार

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा काेरोनाका बिरामी बढे

blog

नयाँदिल्ली, असार २२ गते । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा काेरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा आठसय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

यसैगरी, मलेसियामा दुई हजार नौ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ लाख ७८ हजार सातसय ४१ जना पुगेको छ । 

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख ४७ हजार ८०९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

२४ घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा २८ को मृत्यु भएको थियो । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २७० को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख पन्ध्र हजार २१२ सक्रिय सङ्क्रमित  छन् । करिब चार महिनापछि गत हप्ताबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ ।

पछिल्लो एक दिनमा १५ हजार ३९४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २९ लाख ७ हजार ३३७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत छ ।  

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ८८ लाख डोजभन्दा बढी खोप लगाइएको छ । यहाँ कोरोना सङ्क्रमण सुरु भएबाट हालसम्म ८६ करोड २० लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।