• १४ असार २०८१, शुक्रबार

मसिनो धानको विकासमा जोड

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २२ गते । मसिनो बास्नादार र मसिनो चामलप्रति उपभोक्ताको रुचि बढ्दै गएकाले चामल आयातमा वृद्धि भएको छ । चामलको आयात घटाउन सरकारले उपभोक्ताको रुचिअनुसारको धान उत्पादनतर्फ ध्यान दिन थालेको छ । उपभोक्ताको रुचिअनुसारको धानको उत्पादन वृद्धि गर्न उपयुक्त जात विकासमा जोड दिन थालिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले राष्ट्रिय खाद्य सुरक्षा विशेष कार्यक्रममार्फत मसिनो धान उत्पादनमा जोड दिन थालेको हो । मसिनो धानको उत्पादनका लागि विशेष गरी प्रदेश १ र मधेश प्रदेशलाई लक्षित गरिएको छ । बीउ, प्रविधि, प्राविधिक र मसिना धान किन्ने मिललाई अनुदान सहयोग पनि गर्दै आएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा करिब ४५ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको छ । त्यसमध्ये सबैभन्दा बढी मसिनो र बास्नादार चामल नै रहेको छ । सरकारले चामल आयात प्रतिस्थापन गर्न धान मिसन कार्यक्रमअन्तर्गत मसिना धान उत्पादनमा जोड दिएको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथ, धनुषाका प्रमुख डा. रामवरण यादवले बताउनुभयो ।

उपभोक्ता तथा किसानको चाहनालाई ध्यानमा राखेर सरकारले विभिन्न मसिना जातका धानको विकास गरेको छ । त्यसमध्ये राष्ट्रिय बाली प्रजनन तथा अनुवांशिक अनुसन्धान केन्द्रले विकास गरेको ‘खुमल १२’ र ‘खुमल १४’ गरी दुईवटा मसिना धानका जात राजपत्रमा पनि प्रकाशित भइसकेका छन् । केन्द्रले ‘खुमल बास्मती–१६’ धानको जात पनि विकास गरेको छ । 

त्यस्तै मसिनो धानका लागि ‘गङ्गासागर–१’ र ‘गङ्गासागर–२’ र ‘हर्दिनाथ–५’ गरी तीनवटा धानका जात विकास गरिएको छ । यी धानका जात पनि राजपत्रमा प्रकाशित भइसकेका छन् । यी जात यस वर्षदेखि किसानले प्रयोगमा ल्याइरहेका छन् । यो जातको धान खासगरी तराई मधेशमा हुने डुबानलाई लक्षित गरेर विकास गरिएको राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र हर्दिनाथका प्रमुख यादवले बताउनुभयो । 

खुमल–४ जस्तै खुमल–१२ र खुमल–१४ धानका जात पनि विकास गरिएको छ तर किसानले खुमल–४ रुचाउन छाडेका छन् । त्यसको विकल्प खोज्न थालेपछि केन्द्रले अरू जात विकास गरिएको केन्द्रका धानविज्ञ उज्ज्वल कुशवाहाले बताउनुभयो । खुमल–१२ र खुमल–१४ आइसकेपछि खुमल–४ आफैँ विस्थापित हुने केन्द्रले जनाएको छ । खुमल–१२ र खुमल–१४ को प्रतिहेक्टर उत्पादन करिब पाँच मेट्रिक टन रहेको छ । यो लगाएको १४५ दिनदेखि ४७ दिनमा पाक्छ ।

‘खुमल बास्मती–१६’ जातको धान मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरिएको छ । मध्यपहाडी क्षेत्रका लागि यो नै पहिलो मसिनो र बास्नादार जातको धान विकास भएको हो । यसअघि विकास भएको जातले राम्रो उत्पादन नदिएपछि किसानले रुचाउन छाडिसकेका छन् । खुमल बास्मती–१६ को उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको केन्द्रले जनाएको छ ।