रामेश्वरप्रसाद बराल
सानो सानो मेरो नाति खोजी हिँड्छ साथी,
खोजी खोजी जिस्की हिँड्छ हजुरबुवा जाति ।
घोची भाग्छ औँला कैले डँडुलोले कैले,
भाक्क भुक्क पाक्क पुक्क पारी हिँड्छ जैले ।
किच्च किच्च हाँसी दिन्छ बिग्याइँ गर्छ अनि,
हाँसो मेरो फुस्की हाल्छ जत्ति रिसाए पनि ।
सम्झाउँ छु, भनी उसलाई ‘न गर चकचक !”
चकचके बानी तर गर्दछ सकसक ।
“आज होचा, साना छौ र भोलि अग्ला हुन्छौ,
जुँगा दाह्री सबै आउला, बाबा जस्तै बन्छौ !”
मेरो नाति ! मेरो नाति ! भनी जत्ति घोक्यो,
उत्ति उत्ति मस्की राख्छ छुकछुके पोको ।
लेख्न लाग्यो, कलम खोस्छ कैले हुत्याइदिन्छ,
मोबाइल मात्र जैले सधैँ कार्टुन हेरौँ ! भन्छ
असरल्ल पारी हिँड्छ बिस्कुन छार्रछुर्र
बखान यसको गरौँ के म ? कागज घ्यार्रघुर्र ।
अनि भन्छ, “ठूलो भई नेपाल टिभी लाउँछु ,
हजुरबुवा कार्टुन खोल, म समाचार च्याउँछु ।”
गर्छ कुरै ठूला ठूला मान्छे भने सानू,
साइकल चढी गुर्र गुर्र, मलाई अफिस लानू !
बाबाजस्तै काम गर्छु, पैसै बग्ला खोलो !
काखको ऊ न्यानो उसै रुँदा कोकोहोलो
ख्वाउँदा कैले को–खाइ हैन कथा उसको धोको
सम्झाएको भन ! भन्छ, रिसाउला को पो ?
संसार सबै जाने जस्तो अवोध ! ज्ञान भा’पो
बोली तोते छँदै छैन बानी उसै आ’को
मस्की नाची कुद्या कुद्यै फुर्सद छैन हाम्रो
मेरो नाति यस्तो पो छ कस्तो होला तिम्रो !
अल्झन र बिउँझोमा साथी सेरोफेरो
हजुरबुवा नाति ! भन्ने नाति ह...वा ! मेरो ।