• १३ साउन २०८१, आइतबार

खाँडोको कटानले जोखिम कायमै

blog

कल्याणपुर, असार २२ गते  । सप्तरीमा खाँडो नदीको बाढीले विभिन्न स्थानमा तटबन्ध कटान गर्दा जोखिम बढ्न थालेको छ । सात वर्षअघि सुरु भएको सप्तरीको खाँडो नदी नियन्त्रणको काम अहिलेसम्म पनि पूरा हुन सकेको छैन । नदीमा निर्माण गरिएको तटबन्ध पनि कटान हुन थालेको छ भने तटबन्ध निर्माण अधुरो रहेको अधिकांश ठाउँमा सामान्य वर्षामै कटान हुन थालेको छ । 

जिल्लामा सबैभन्दा बढी बाढीले क्षति गर्ने खाँडो नदीका एक दर्जन स्थानमा बाढीको जोखिम रहने गरेका छन् । सो नियन्त्रणका लागि सप्तरीमा आर्थिक वर्ष २०७२÷७३ मा राजविराजस्थित खाँडो नदी व्यवस्थापन आयोजनाको कार्यालय नै स्थापना गरी तटबन्ध निर्माण सुरु गरिएको हो तर हालसम्म तटबन्ध निर्माण र बाढी नियन्त्रणको काम पूरा हुन सकेको छैन । 

यसै सातामा लगातार भएको वर्षाले तिलाठी कोइलाडी गाउँपालिकास्थित खाँडो नदीको विभिन्न स्थानमा कटान लागेको छ । गाउँपालिकाको वडा नम्बर १ तिलाठी, वडा नम्बर २, लौनियाको भागमा खोलाको बाढीले कटान थालेको हो । तिलाठी र लौनिया स्थित पूर्व र पश्चिमतर्फको बाँधमा विभिन्न ठाउँमा वर्षाको पानीले समेत बाँध कटान (रेन कट) गरेको छ । 

खाँडो नदी नियन्त्रण आयोजनाबाट ‘बोल्डर क्रेटिङ’ गर्ने जिम्मेवारी पाएका ठेकेदारले समयमा काम नगर्दा बाँध कटान भएको छ । ‘बोल्डर क्रेटिङ’ गर्न खोलाभित्र खाल्डो खनेर महिनाँैसम्म काम नगर्दा बाढीले बाँध कटान गरेको हो । गाउँपालिकाबाट पटक–पटक ठेकेदार तथा आयोजना प्रमुखलाई ताकेता गर्दा पनि समयमा काम नगरेकाले बाँधमा कटान लागेको गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिनुभयो । 

तिलाठी, बेल्ही, सकरपुरा, मधेपुरा, कोइलाडी बर्साइन, रूपनी, दिघवा, पकरी, तोपा, विषहरिया, लौनियालगायतका गाउँमा खाँडो बाढीको उच्च जोखिममा रहेका कारण तटबन्ध निर्माणको काम थालनी भएको थियो । काम सुरु भए यता तिलाठी कोइलाडी गाउँपालिकाको बेल्हीमा सात सय मिटर, रूपनी गाउँपालिका वडा नम्बर २ मा १६० मिटर र सोही गाउँपालिका वडा नम्बर ६ स्थित तेरहौतामा तीन सय मिटर तटबन्ध निर्माणको काम भएको छ । तेरहौतामा १५० मिटर काम बाँकी रहेकाले यस पटक पनि कटानको जोखिम कायमै रहेको स्थानीयवासीले बताएका छन् । 

खाँडो नदी व्यवस्थापन आयोजनाका प्रमुख एकराज भट्टराईका अनुसार पर्याप्त बजेटको अभाव, जग्गा सम्बन्धी विवाद, निर्माण व्यवसायी परिचालनमा कठिनाइलगायतका समस्याका कारण काममा ढिलाइ भइरहेको छ । उपभोक्ता समिति गठनमा समस्या तथा कार्यालय सञ्चालनमा पूर्वाधारको कमीलगायतका समस्याले पनि काम प्रभावित हुने गरेको उहाँको भनाइ छ ।