• १३ साउन २०८१, आइतबार

कर्णालीका कारागार

जीर्ण भवनमा कैदीबन्दीलाई सकस

blog

ललित बसेल

सुर्खेत, असार २२ गते । कर्णाली प्रदेशका कारागारको भौतिक अवस्था कमजोर रहेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोट जिल्लाका अधिकांश जीर्ण र साँघुरा भवनमा कैदीबन्दीलाई सास्ती भएको अनुगमनका क्रममा पाइएको छ । कारागारहरूको भौतिक अवस्था कमजोर हुँदा कैदीबन्दीलाई सकस भएको हो ।

प्रदेशका विभिन्न जिल्लाका कारागारको अनुगमन गर्दै कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको रहेको पाइएको बताउनुभयो । प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नु परेका समस्या बुझ्न आफू कारागारहरूको अनुगमनमा हिँडेको बताउँदै उहाँले यसबाट प्रतिवेदन तयार गरिने उल्लेख गर्नुभयो । उहाँले अनुगमनका क्रममा कारागारहरूको अवस्था जीर्ण भएको, साँघुरा भवन हुँदा कोच्चिएर बस्नु परेको, खेलमैदान तथा मनोरञ्जनको व्यवस्था नभएको, खानेपानीको अभावजस्ता समस्या भोग्न परेको बताउनुभयो ।

यसैबीच मुख्य न्यायाधिवक्ता श्रेष्ठले मङ्गलबार सुर्खेत कारागारको अवलोकन गर्नुभएको छ । कारागार पुगी उहाँले पुरुष तथा महिला कैदीबन्दीसँग समस्याबारे सोधपुछसमेत गर्नुभएको छ । स्वच्छ खानेपानी, स्वास्थ्य जाँच, मनोरञ्जनलगायतका सुविधाबारे उहाँले जानकारी लिनुभएको बताइएको छ ।

अनुगमनपछि मुख्य न्यायाधिवक्ता श्रेष्ठले सुर्खेतमा भवन साँघुरो हुँदा कैदीबन्दी कोचिएर सुत्नु परेको, दैलेखमा भवन राम्रो भए पनि खानेपानी अभाव भएको र अन्य जिल्लाका कारागारमा भवनकै समस्या रहेको बताउनुभयो । सुर्खेत कारागारमा अहिले कैदीबन्दी र थुनुवासहित ३७७ जना छन् । तिनमा पुरुष ३३६, महिला ४१ र आश्रित बालबालिका सात जना छन् । सुर्खेत कारागारका नायब सुब्बा भुवन गौतमले कारागार भवन नयाँ भए पनि अपराध बढ्दै जाँदा कारागारमा आउने कैदीबन्दीको सङ्ख्या पनि बढ्दै गएकाले स्थान अपुग भएको बताउनुभयो । 

कारागारभित्रका पुराना भवन भत्काउने क्रम चलिरहेकाले पर्याप्त खेलमैदान तयार हुने हुँदा कैदीबन्दीलाई सहज हुने उहाँको भनाइ छ । पुरुष कैदीबन्दीको तुलनामा महिला कैदीबन्दी बस्ने स्थान सहज भएको जानकारी दिँदै उहाँले कारागार प्रशासन कैदीबन्दीको स्वास्थ्यलगायत व्यवस्थापकीय कार्यमा संवेदनशील रहेको उल्लेख गर्नुभयो । कारागारमा अहिले लागूऔषध, जबरजस्ती करणी, कर्तव्य ज्यान र बहुविवाहका मुद्दाका कैदीबन्दी बढी छन् ।