• १५ असोज २०८१, मङ्गलबार

मतदानस्थलमा पठाइँदै निर्वाचन सामग्री

blog

असार २३ गते हुने बूढीगङ्गाको स्थानीय निर्वाचनका लागि निर्वाचन सामाग्री रुजु हुँदै । तस्बिर– शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, जेठ २१ गते । असार २३ गते हुने बूढीगङ्गा नगरपालिकाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय बाजुराले निर्वाचन सामग्री रुजु गर्दै मतदानस्थलमा पठाएको छ ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदानस्थलमा धाँधली हुँदा त्यहाँको मतगणना रोकिएपछि पुनः मतदान हुन लागेको हो ।

निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री तयार गर्दै सो ठाउँमा पठाएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

निर्वाचनका लागि मतदाता नामावली, मतपत्र, मतपेटिका सुरक्षण सिल, मसी मार्कर, स्वस्तिक छाप,  मतपेटिका स्टिकरलगायत निर्वाचन सामग्री रुजु गर्दै मतदानस्थलमा पठाइएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।

१० मतदानस्थल र १९ उपमतदान केन्द्र रहेको सो पालिकाको निर्वाचन सम्पन्न गर्ने गरी ९५ कर्मचारी खटाइएका छन् । 

असार २३ गते हुने सो पालिकाको निर्वाचनमा १३ हजार ६५९ जना मतदाताले दतदान गर्न पाउनेछन् ।

चुनावलाई भयरहित तरिकाले सम्पन्न गर्ने गरी नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग गरी चारवटा तहका सुरक्षाकर्मीको समेत व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताउनुभयो ।