• ११ पुस २०८१, बिहिबार

दही चिउरा संस्कृति

blog

दामोदर न्यौपाने  

गत वर्षजस्तै यो वर्ष पनि वर्षायाम सुरु भयो । खेतमा धान रोप्ने चटारो छ । वर्षायाम किसानको पर्व हो । असारमा मानो रोपेर मङ्सिरमा मुरी भित्र्याउने भनाइ नेपाली समाजमा छ । गाउँका भाइबहिनीलाई धान रोप्ने कुरा नौलो होइन । सहरका भाइबहिनीलाई भने धान रोप्ने चटारो हुँदैन । कुनै कुनै स्कुलले धान रोप्न खेतमा लैजान्छन् । त्यतिबेला भने हिलोमा रमाउनुभएको होला । केही वर्ष यता त असार १५ मा धान दिवससमेत मनाइने गरिएको छ । धान रोपे पनि नरोपे पनि, गाउँमा वा सहरमा जहाँ भए पनि असार पन्ध्रमा दही चिउरा भने सबैतिर खाइन्छ । दही चिउरा खाने हाम्रो संस्कृति नै हो । यही संस्कृतिबारे चर्चा गरौँ है ।


दही के हो ?

दहीको स्वाद धेरैले लिएको हुनसक्छ तर कसरी बन्छ भन्ने चाहिँ धेरैलाई थाहा नहुन सक्छ । दूधबाट बन्ने हो दही । छोटकरीमा भन्दा दूध फाटेर दही बन्ने हो । दूधलाई दहीमा रूपान्तरण गर्न काम ब्याक्टेरियाले गर्छ । ब्याक्टेरियाले अम्ल सिर्जना गरेपछि दही बन्ने हो । अम्ल भनेको अमिलो पदार्थ हो । 

जमेको दही कस्तो स्वादको बनाउने भन्ने चाहिँ जमाएको तापक्रम र दूधको गुणस्तरले फरक पार्छ । तामक्रम बढी भएमा दही अमिलो हुन्छ । बढी तामक्रम भए दही चाँडै जम्छ भने चिसो भए ढिलो । दहीको जोडन (कच्चा पदार्थ) जस्तो छ, दहीको स्वाद पनि त्यस्तै हुन्छ । दूधको गुणस्तरअनुसार पनि दहीको स्वाद फरक पर्छ । बाक्लो दूधबाट बनेको दहीको स्वाद अझ मीठो हुन्छ । भक्तपुरमा दूध घोटीघोटी बनाएको जूजू धौ चर्चित छ । नेपाल भाषामा जूजू धौ भनेको दहीको राजा हो । 

दहीलाई पोषक खाद्यान्नका रूपमा लिइन्छ । पोषणविद् सोफिया उप्रेतीका अनुसार यसमा क्याल्सियम, सोडियम, पोटासियम र भिटामिन पाइन्छ । पोषक मात्र नभई औषधीय गुण पनि हुन्छ यसमा । दहीले मधुमेहलाई सन्चो गर्छ भन्ने मान्यता छ । उप्रेतीका अनुसार दहीले मांसपेशी र हाड बलियो बनाउँछ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । पाचन प्रक्रियामा सहयोग गर्छ । पखाला लाग्दा दही खाए थामिन्छ । मान्छेलाई राम्रो गर्ने गुण भएकैले यसलाई परापूर्वकालदेखि नै महत्त्वपूर्ण  खाद्य वस्तुका रूपमा लियो । त्यही भएर भक्तपुरका संस्कृतिविद् ओम धौभडेल भन्नुहुन्छ, “दही पुर्खाले सिर्जना गरेको सम्पदा हो ।” 

चिउरा कसरी बन्छ ?

धानलाई उसिनेर भुट्ने कुटेपछि चिउरा बन्छ । पहिला पहिला चिउरा ओखल या ढिकीमा कुटिन्थ्यो । अचेल चाहिँ चिउरा कुट्ने मिल पनि हुन्छन् । गाउँघरतिर भने कतै कतै अझै ओखलको चलन छ । धेरै समयसम्म नबिग्रने चिउरालाई नेपाली समाजमा बासी नहुने चोखो खाद्यान्नका रूपमा समेत लिइन्छ । चिउरा कार्बोहाइड्रेडको स्रोत हो । यसमा आइरन र प्रोटिन पनि पाइन्छ । 

दही चिउराका फाइदा 

दही खाँदा पनि फाइदा भयो । चिउरा खाँदा पनि फाइदा भयो । झन् दही र चिउरा मिसाएर खाँदा त झन् फाइदा हुने भइगो । पहिला पहिला असार १५ मा मात्र दही चिउरा खाने चलन रहेको मा अचेल जुन बेला पनि खान पाइन्छ । हाम्रो देश कृषि प्रधान देश हो । कृषिसँग खाना जोडिन्छ । यस अर्थमा खाना पनि हाम्रो संस्कृति हो । खानासँग अनेक संस्कृति जोडिएका छन् । असार पन्ध्रमा दही चिउरा खाइन्छ । साउन पन्ध्रमा खीर । माघे सङ्क्रान्तिमा खिचडी खाइन्छ । त्यही दिनमा सखरखण्ड, तरुल, चाकु, तिलको लड्डुजस्ता पोषिला खाद्यान्न खाइन्छ । योमरी पुन्हीमा योमरी खाइन्छ । अक्षय तृतीयामा सातु । खानासँग जोडिएको संस्कृतिमध्ये दही चिउरा संस्कृतिलाई उत्कृष्ट खाद्य सिर्जनामध्येमा गनिन्छ । भाइबहिनीहरू पनि दही चिउराको आनन्द लिनुस् है ।