• २८ वैशाख २०८१, शुक्रबार

मनको साथी मुना

के हो समाज अनि असामाजिक क्रियाकलाप

blog

भाइबहिनीहरू, एकभन्दा धेरै मानिस जहाँ समुदायका रूपमा निश्चित र क्रमिक मूल्यमान्यताका साथ आआफ्नो संस्कृति, रहनसहन, व्यवस्था, धर्म आदि अँगालेर एकै स्थानमा बसोबास गर्ने गर्छन् । आदिम कालदेखि मानिसले आफ्नो सुुरक्षाका लागि आगो बालेर बस्ने र समूहमा बस्ने अनि एक अर्कोलाई सहयोग गर्ने प्रवृत्तिको विकास भएको हो । कालन्तरमा यस क्रमको विकास हुँदै आफ्ना आवश्यकताअनुसार चालचलन, कर्म, धर्म, संस्कृति र स्वव्यवहार अपनाउँदै समाजको विकास भएको हो । त्यस्ता मानिसको समूहलाई नै समाज भनिन्छ । 

प्रत्येक समाजमा आआफ्ना चालचलन एवं रहनसहन, रीतिरिवाज वा धर्म संस्कृति र सामाजिक मूल्यमान्यता रहेको हुन्छ नै । त्यसैले समाजमा बसोबास गर्ने मानिसले आफू बसेको समाजमा के कस्ता मूल्यमान्यता छन् सो कुराको ख्याल राखी आफ्नो व्यवहार समाज अनुकूल प्रस्तुत गर्नुपर्छ । यसै कुरालाई नै सामाजिक क्रियाकलाप भनिन्छ । यसको ठीक विपरीत व्यवहार जनाउनु वा गर्नुलाई anti- social activities अर्थात् असामाजिक क्रियाकलाप भनिन्छ । यहाँ यसै विषयमा चर्चा गरिँदै छ ल ।

समाज भनेको नै विभिन्न स्वभाव, रहनसहन, भेषभूषा, धर्म, भाषा अँगाल्ने मानिसहरूको सामूहिक रूप हो । यसको मतलव एउटै समाजमा बस्ने व्यक्तिको आआफ्नो स्वभावअनुसार उनीहरूको एउटै कुरामा पनि फरक फरक बानी–व्यवहार वा दृष्टिकोण रहेको हुन्छ जुन समाजको पक्षमा वा विपक्षमा हुन सक्दछ । यसरी कुनै पनि समाजमा बस्ने व्यक्तिले उक्त समाजको मूल्यमान्यता विपरीत वा उक्त समाजमा बस्ने अन्य व्यक्तिलाई असर पर्ने गरी कुनै गतिविधि वा व्यवहार वा क्रियाकलाप गर्नुलाई समाजविरोधी वा असामाजिक क्रियाकलाप भन्ने गरिन्छ । यसअन्तर्गत समाजमा झैंझगडा सिर्जना गर्ने, सामाजिक संरचनामाथि प्रहार गर्ने वा समाजविरुद्ध भड्काउने गतिविधि गर्नेजस्ता कुरा पर्दछन् ।

असामाजिक क्रियाकलाप भएको कसरी थाहा पाउने

तिमी–हाम्रो समाजमा परापूर्वकालदेखि चलिआएका आ–आफ्नै रीतिरिवाज, मूल्यमान्यता वा चालचलन छन् । विभिन्न जातजाति, धर्म, लिङ्ग, संस्कृतिसँग जोडिएर समाजका मानिसहरूले स्वीकार्य गर्दै आएको व्यवहारमा यदि कोही कसैले समाजको हितभन्दा विपरीत कोही कसैलाई दुःख दिने गरी कुनै क्रियाकलाप गर्दछ भने त्यस्तो क्रियाकलाप असामाजिक क्रियाकलाप हो भनी बुझ्नु पर्दछ । यस्ता क्रियाकलाप आफ्नो गाउँ, छिमेक, विद्यालय, मठमन्दिर, पार्कजस्ता सार्वजनिक वा कुनै व्यक्तिगत सम्पत्तिमाथि विघ्नबाधा पु-याउने गरी क्रियाकलाप गर्न सक्ने हुँदा हामी जो कोही यी कुरामा आफ्नोतर्फबाट सचेत हुनुपर्छ किनकि समाजमा देखा पर्ने त्यस्ता अव्यावहारिक काम–कारबाही वा गडबडीहरू धेरैलाई मान्य हुँदैन किनकि ती व्यवहारले समाजलाई असर पार्दछ अर्थात् समाजको मूल्यमान्यतालाई नकारात्मक असर गर्दछ । त्यसैले समाजले त्यस्ता व्यवहारलाई पूरै अस्वीकार गर्दछ । 

समाजमा चोरी गर्ने, डकैती गर्नु, अरूलाई बिनाकसुर दुःख दिनु, सार्वजनिक ठाउँका संरचनाको तोडफोड गर्नु (जस्तै खानेपानीको मुहान, धारामा असर पार्नु, मठमन्दिरमा, विद्यालय, अस्पताल, पार्क, सडकजस्ता क्षेत्र), सामाजिक सञ्जालमा अपशब्द लेख्ने, अश्लील चित्र वा सङ्केत संयोजन गर्ने, भौतिक संरचना बिगार्ने, मालसामान तोडफोड गर्ने, छलकपट गर्ने, हिंसात्मक गतिविधि, अभद्र व्यवहार गर्नु, यौन शोषण गर्नु वा त्यसका लागि उत्तेजित बन्ने वा बनाउनेजस्ता क्रियाकलाप असामाजिक क्रियाकलाप हुन् । भाइबहिनीहरू, यदि यस्ता व्यवहार जो कोहीले देखाउँछ भने त्यस्ता क्रियाकलाप असामाजिक क्रियाकलाप हो भनी बुझ्नु पर्दछ । यसको अर्थ समाजलाई हित नगर्ने जुनसुकै व्यवहार जो कोहीले देखाउँछ भने ती सबै  असामाजिक क्रियाकलाप anti- social activities  हो भनी बुझ्नु पर्छ ।

समाज वा विद्यालयमा असामाजिक क्रियाकलाप भए के गर्ने आफ्नो वरिपरि रहेका संरचना र समाजले स्थापित गरेका मूल्यमान्यताको प्रयोग गर्ने र तिनीहरूको संरक्षण गर्ने समाजमा बस्ने हरेक व्यक्तिको कर्तव्य हो । त्यसैले समाजमा हुने हरेक स्वस्थ सामाजिक क्रियाकलापमा संलग्न हुने र सामाजिक संरचनाको प्रयोगसँगै संरक्षणमा जुट्नु हाम्रो मुख्य जिम्मेवारी हो । भाइबहिनीहरू, यदि कसैले सामाजिक मूल्यमान्यता, संरचनामा दखल पु-याउने कार्य गर्दछ वा त्यसो गर्नका लागि अरूलाई प्रेरित गरेको देखेमा त्यसको तत्काल विरोध एवं प्रतिकार गर्नुपर्छ । अनि उक्त कार्य नगर्न प्रोत्साहित गर्ने बानीको विकास गर्नुपर्छ । 

त्यस्तो अमर्यादित कार्य जो कोहीले गरेको वा गर्न लगाएको थाहा भएमा आफूले पनि तुरुन्त आफ्नो  साथीभाइ, छरछिमेक वा समाजका अन्य सदस्यहरूलाई जानकारी गराइहाल्नु पर्छ । तपाईं हामीले पनि त्यस्तो कार्य साथीभाइको समूहमा रहँदा गर्नु हुन्न । यदि त्यस्तो अमर्यादित कार्य कसैले गरेमा आफूले रोक्ने प्रयास गर्नुपर्छ । रोक्ने प्रयास गर्दागर्दै पनि रोक्न सफल नभएमा आफ्नो विद्यालयका शिक्षक वा कुनै सदस्य, परिवारका आफन्त वा समाजमा बस्ने व्यक्तिलाई यथार्थ जानकारी गराउने कार्य पनि नडराई गर्नुपर्दछ ।

असल व्यक्ति बन्ने प्रतिबद्धता

अन्त्यमा, भाइबहिनीहरू, तपाईं हामीले आजदेखि यस्ता कुनै पनि असामाजिक गतिविधि गर्ने छैनौ र त्यस्ता गतिविधि अरूलाई पनि गर्न दिने छैनौँ भन्ने प्रतिबद्धता पनि यहाँ गरौँ, ल । यदि कसैले त्यस्तो असामाजिक क्रियाकलाप गरेको देखेमा वा सुनेमा त्यसको विरोध गरी असल व्यक्ति बन्ने छु भनी आत्मविश्वास पनि बलियो पारौँ है । अहिलेलाई यहाँ यति मात्र है त । भाइबहिनीहरू यदि तपाईंहरूलाई कुनै समस्या भएमा ‘मेरो साथी मुना छ’ भनी आफ्नो मनको कुरा हाम्रो Email address:- munamonthly@gmail.com मार्फत राख्न ढिला नगर्नु है त ।