• १३ असार २०८१, बिहिबार

माओवादीको केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सकियो

blog

फाइल तस्बिर ।

काठमाडौं, असार २० गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । जारी बैठकमा सोमबार केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्नुभएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

माओवादी बैठकमा सातै प्रदेशबारे ईन्चार्जहरुले रिपोर्टिङ गरिने, आठौं महाधिवेशनदेखि रिक्त पदाधिकारी, पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्ने, स्थानीय तहको समिक्षा, आगामी संघीय र प्रदेशको निर्वाचनको तयारी, कार्य विभाजन एवं संगठनात्मक संरचना लगायतका मुख्य नौ एजेण्डामाथि छलफल भएको हो । 

आइतबार साँझ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायत तात्कालीन नेकपा बहुमत सचिवालयका सदस्यहरुबीच भेटवार्ता भएको थियो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमबीच भएको भेटघाटमा आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने विषयमा समझदारी भयो ।

यस सम्बन्धमा माओवादी बैठकमा वाम गठबन्धन, सहकार्यका विषयमा धारणा प्रस्तुत भएपनि यसको निष्कर्श भने भोलि मंगलबारको बैठकले टुंगो लगाउने ढकालको भनाइ छ । बैठकले तीन सय ७३ केन्द्रीय सदस्य टुंगो लगाएपनि पदाधिकारी चयन भने गर्न सकेको छैन । माओवादी केन्द्रको आजको बैठक भने भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।