• २४ असार २०८१, सोमबार

जुनमा भित्रिए सतचालीस हजार पर्यटक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । कोरोना सङ्क्रमणका कारण विगत दुई वर्ष पर्यटकविहीनजस्तै रहेको नेपालमा पछिल्ला महिनामा पर्यटक आगमनमा उल्लेख्य सुधार आउन थालेको छ । खासगरी सन् २०२२ यता प्रायः सबै महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या निरन्तर बढिरहेको छ । यो क्रम जुनमा पनि कायम देखिएको छ । 

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार जुनमा मात्रै हवाईमार्गबाट ४६ हजार ९५७ विदेशी पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशतले वृद्धि हो । कोरोना महामारीबाट अत्यधिक प्रभावित वर्ष सन् २०२१ को जुनमा एक हजार १४३ र सन् २०२० मा सोही महिनामा जम्मा ७६ जना पर्यटक भित्रिएका थिए । जुनसहित सन् २०२२ को अहिलेसम्मको अवधिमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या भने दुई लाख ३७ हजार ६६० पुगेको छ । 


जुनमा भित्रिएका विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । यो एक महिनामा २३ हजार २४८ भारतीय हवाईमार्गबाट नेपाल भित्रिएका हुन् । सबैभन्दा कम भने चेक रिपब्लिकबाट २९ जना पर्यटक मात्र नेपाल आएका छन् ।

क्षेत्रीय हिसाबले सबैभन्दा धेरै सार्क क्षेत्रबाट २६ हजार पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट दुई हजार ३६९ पर्यटक नेपाल आएका छन् । युरोपका डेढ दर्जन देशबाट चार हजार ७८७ पर्यटक आएका छन् भने ओसिआनिया क्षेत्रबाट एक हजार ५४९ र अमेरिकी मुलुकबाट आठ हजार ९८० पर्यटक आएका छन् । 

भारतपछि नेपाल आउने विदेशी पर्यटकमा संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाबाट जुनमा मात्रै आठ हजार ३५१ पर्यटक नेपाल आएका छन् । नेपालको ठूलो पर्यटक बजार रहेको चीनबाट नेपाल आउने पर्यटकको सङ्ख्या भने कम छ । चीनबाट जुनमा ४५१ जना पर्यटक मात्रै नेपाल आएका छन् । कोरोना सङ्क्रमणका कारण चीनले हवाई यात्रामा लगाएको प्रतिबन्धका कारण पनि त्यहाँबाट नेपाल आउने पर्यटकको सङ्ख्या उल्लेख्य बढ्न सकेको छैन । जुन महिनामा नेपालबाट बाहिरिनेको सङ्ख्या भने ४७ हजार ८९३ रहेको छ ।