• २४ असार २०८१, सोमबार

एसपीपीबारे पत्राचार अध्ययनपछि मात्र : परराष्ट्र

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार२० गते  । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउन गरेको निर्णय अमेरिका पुग्न सकेको छैन । कूटनीतिक नियमअनुसार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले सो पत्र अमेरिकाको सम्बन्धित निकायमा पठाउनुपर्ने हुन्छ । मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयलाई पठाएको छ तर परराष्ट्र मन्त्रालयले एसपीपीमा सहभागिताको अघिल्लो पत्राचारलाई अघि नबढाउन गरेको निर्णयका विषय अध्ययनकै क्रममा रहेको प्रस्ट पारेको छ । 

मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले विस्तृत अध्ययनपछि पत्र अमेरिका पठाइने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “एसपीपीका विषयमा पहिले भएको पत्राचार परराष्ट्र मन्त्रालयलाई थाहा थिएन । नेपाल सरकारको निर्णयअनुसार एउटा म्यान्डेट प्राप्त भएको अवस्था छ तर परराष्ट्र मन्त्रालयले काम गर्दाखेरि सबै कुरा बृहत् अध्ययन गरेर पत्राचार गर्नुपर्ने हुन्छ ।”

उहाँले परराष्ट्रले अध्ययन गरेर उपयुक्त समयमा कूटनीतिक माध्यमबाट नेपाल सरकारको निर्णय कार्यान्वयन गर्ने बताउनुभयो । पहिले के कति पत्राचार भएको थियो, अब कसरी पठाउने भन्नेबारे अध्ययन गरेर पठाउने जानकारी दिँदै भन्नुभयो, “अहिले पत्र पठाइसकेको अवस्था छैन, पत्र जान्छ ढुक्क हुनुस् ।” 

प्रधानमन्त्रीको अमेरिका भ्रमण छिट्टै

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निकट भविष्यमा हुने सङ्केत गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको जनाउ दिँदै निकट भविष्यमा सो भ्रमण हुन सक्ने सङ्केत मन्त्रालयले गरेको हो । 

प्रवक्ता लम्सालका अनुसार सबै तयारी पुगेपछि भ्रमणको औपचारिक मिति घोषणा हुने र त्यसबारे औपचारिक जानकारी दिइने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको अमेरिका भ्रमणको कुरा चलिराखेको छ, यो भ्रमण अपेक्षित छ, यसको प्रक्रिया तपाईंहरूलाई थाहा नै छ, निमन्त्रणा गर्ने र त्यसलाई स्वीकार गर्ने पनि प्रक्रिया हुन्छ ।” सोही प्रक्रियाअनुसार भ्रमणको तयारी चलिरहेको उहाँले प्रस्ट पार्नुभयो । साथै परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि निकट भविष्यमा छिमेकी मुलुक चीनको भ्रमण गर्नुहुने जानकारी मन्त्रालयले दिएको छ ।