• २ असार २०८१, आइतबार

बागमती नदीले बगाएर बेपत्ता दुई भारतीय युवकको शव भेटियो

blog

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदी। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार १९ गते। सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीले बगाएर बेपत्ता दुई भारतीय युवकको आइतबार दिउँसो शव फेला परेको छ।

 रौतहटको चन्द्रपुर नगरपालिका-१, मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवक ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार साँझदेखि बागमती नदीमा बेपत्ता हुनुहुन्थ्यो। 

 भारतको सीतामढी कोट बजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो २ बजेतिर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ र रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर १ को सीमा क्षेत्रस्थित बागमती नदीमै फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिनुभयो। 

नुनथरमा घुम्न आएका मयङ्क र गोलुकुमारलाई नदीले बगाएको स्थानभन्दा झण्डै १५ किलोमिटर दक्षिण एकै ठाउँमा शव फेला परेको प्रनाउ जैसवारले बताउनुभयो। आइतबार दिउँसो स्थानीयले मृतक दुवैको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। 

बीआर ०१ एचएफ ६६१९ नम्बरको मोटरसाइकलमा नुनथर घुम्न आएका भारतीय पौडी खेल्नेक्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। मयङ्क र गोलुकुमारसँगै घुम्न आएका २७ वर्षीय सुमन साहको भने स्थानीयले तत्कालै उद्धार गरेका थिए।