• ६ पुस २०८१, शनिबार

बदलियो सुकुम्बासी बस्ती

blog

बोदेबर्साइन समाचारदाता

बोदेबर्साइन (सप्तरी), असार १९ गते  । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनपछि मोहनपुर सुकुम्बासी बस्तीका महिला आर्थिक रूपमा सशक्त हुँदै गएका छन् । तीन सय घरधुरीको यो बस्तीको जीविकोपार्जनको सहारा बनेको समृद्धिले आर्थिक स्थिति सबल बनाएको छ भन्ने पाँच सयभन्दा बढी बालबालिकाको जीवनमा शिक्षाको उज्यालो छाएको छ । 

हिजोसम्म अभाव, गरिबी र हिंसाको चपेटमा रहेको समृद्धि आयोजनाले मोहनपुरका महिलाको फेरिएको जीवनशैलीे जिल्लाकै उदाहरणीय बनेको छ । एउटा गाई पाल्ने हैसियत नभएका परिवारले समृद्धिको साथ पाएर पाँचदेखि १० वटा गाईभैँसी पालन गरेर यस भेगलाई दुग्ध उत्पादनको पकेट क्षेत्रका रूपमा चिनाएका छन् । मोहनपुरको दूध उत्पादन समूहमा ९० प्रतिशत १८ देखि ४० वर्ष उमेर समूहका युवा महिला रहेका छन् ।

दुई दशकअघि मात्रै बसेको सप्तरी जिल्लाको अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा–६ नदी किनारको मोहनपुरवासीलाई गाउँमा भोकमरी लाग्थ्यो । खाना, पैसा र बाटोकै अभावले रोगले च्यापेर बालबालिका र सुत्केरीले ज्यान गुमाउँथे । “मोहनपुरका सुकुम्बासी बस्तीले महुली खोलाको किनारमा जीवन नियाल्दै आएका थिए । बाढीको विनाश र खोला किनारको बगरबाहेक यहाँका बासिन्दाले केही पाउँदैनथे,” स्थानीय अगुवा महिला कुसुम आचार्यले भन्नुभयो । 

नदीले वर्षको दुई पटक बासस्थान नै बगाउने पीडा त छँदै थियो, नदीका कारण अन्नपात पनि उब्जाउ हँुदैनथ्यो । बगर खेती गरे बाढीले बगाइदिने गरेको स्थानीय डिकबहादुर मगरले सुनाउनुभयो । बाढीले बालबच्चा बगाइदिएको कालोरात सम्झेर अझै रुनुहुन्छ स्थानीय ८६ वर्षीया झुना बन्जरा तर अब दुःखका दिन बित्दै जाँदा समृद्धिले उज्यालो ल्याइदिएको उहाँले भन्नुभयो । मजजुरी वर्षको एक/डेढ महिनाबाहेक लाग्दैनथ्यो । महुली खोलाको उकासको त्यो तीन सय घरधुरीको सुकुम्बासी बस्तीको कमाइ खान चुरेका जङ्गलबाट दाउरा ल्याएर बेच्नेबाहेक कुनै रोजगारी थिएन । 

गाउँपालिकाले बस्ती जोगाउन तारजालीमा ढुङ्गा लगाएर नदी नियन्त्रण र घर नभएकालाई घर निर्माण, फुसको छानोमा जस्तापाता लगाइदियो । सिँचाइ डिभिजन प्रणालीले सिँचाइको ड्याम र कल्भर्ट निर्माण गरिदियो । यसले बाँझो खेतहरू सिञ्चित गरेर उब्जाउ बनाएका छन् । एक दशक अघिसम्म शिक्षा नबुझेका डेढ हजार बालबालिका अहिले बाटोको सहजता र आर्थिक सम्पन्नताले विद्यालय गएर पढ्न पाएका छन् । शिक्षाले बदलिँदै गएको सोच र बजारको सहजताले उहाँहरूले आआफ्नै घरेलु व्यवसाय गर्नुभएको छ । पछिल्लो पाँच वर्षयता विभिन्न सङ्घ–संस्था र स्थानीय सरकारको पनि लगानीले सुकुम्बासी बस्तीको अवस्था बदलिएको छ । 

बस्तीका ९० प्रतिशत महिला नै घरमूली छन् र मेहनत गरेर सम्पन्नताले घर चलाएका पनि छन् ।

सिङ्गै गाउँवासी दिनभर मजदुरी गरेर कमाएको पैसा एक छाक टार्नु र बाँकी रकमकोे रक्सी खानुबाहेक केही सपना र योजना थिएन तर चार वर्षअघि समृद्धि आयोजनाले दूध उत्पादन रोजगारले सुकुम्बासी महिलाको परिवार र सन्तानको जीविकोपार्जन गर्ने बाटो पहिल्याएको सुकुम्बासी बस्तीका सुनिता नेपाली भन्नुहुन्छ । “दाउराको भारी बोकेर दैनिकजसो दुईदेखि सात गाउँ नै पुग्नु परेको तर पनि बजार अभावले दाउरा बिक्री नहुँदा छाक कसरी टार्ने ? त्यो दुःखको दिन सम्झिदै रुन आउँछ । प्रशस्त बजार भएको दूध उत्पादन गरेदेखि हाम्रो दुःखको दिन गयो । अब एउटाबाट पाँचवटा गाई पालेर छाककै २५ लिटर दूध उत्पादन गर्छु ।” खर्चसँगै चाहेको जति बचत पनि गर्न पाएको सुनिताले सुनाउनुभयो । 

“दूध उत्पादनले सधैँ पैसा हुन्छ । परेको बेला कतै जानु पर्दैन, सहकारीले एक फोनमै खातामा पैसा हालदिन्छन्,” स्थानीय शान्ताकुमारी खत्रीले भन्नुभयो ।  स्थानीय लक्ष्मी विशुङ्खे भन्नुहुन्छ, “महिनाको १५/२० हजार बचत पनि गरेका छौँ । यो बस्तीका ९० प्रतिशत महिला नै घरमूली छन् र मेहनत गरेर सम्पन्नताले घर चलाएका पनि छन् । खर्च गर्न र घर चलाउन श्रीमान्को मुख ताक्नु परेको छैन ।”

 नेपाल सरकारकै सहकार्यमा सञ्चालित समृद्धि आयोजनाले सुकुम्बासी बस्तीमा विपन्न कृषक तथा दूध उत्पादन समूह गठन गरेको छ । समूहमार्फत सामूहिक खेती, सुधारिएको गोठ, साना व्यवसाय सञ्चालनलगायतको कार्यमा सहयोग पु(याएका छन् । आयोजनाले प्रतिकिसान व्यक्तिलाई २० प्रतिशत र समूहमा ३० देखि ४० प्रतिशतसम्म अनुदान रकम उपलब्ध गराएको आयोजनाको फिल्ड सुपरभाइजर रुवी झाले जानकारी दिनुभयो । यसरी सुकुम्बासी बस्तीका २०/२० जना महिलाको तीनवटा समूहले अनुदान लिएर गाई पालन गरेका छन् । तरकारी तथा अन्नबाली नजिकैको बजारमा बेचेर महिनाको १५ देखि ३० हजारसम्म आम्दानी पनि गरिरहेका छन् । छोराछोरीको स्तरीय विद्यालयमा पढाउन पाएका छन् ।