• १३ साउन २०८१, आइतबार

वर्षाले ग्रामीण सडक बिग्रिए

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार १९ गते । सिन्धुली जिल्लामा वर्षाका कारण ग्रामीण क्षेत्रका सडक बिग्रिएका छन् । दुई दिनसम्म परेको अविरल वर्षाले सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ सडक, सोलाभञ्ज्याङ–मझुवा सडक, खनियाँखर्क–तीनकन्या सडक, बस्तीपुर–रामपुरलगायतका ग्रामीण सडक भत्किएर आवतजावतमा स्थानीयलाई समस्या भएको हो ।

गोलन्जोर गाउँपालिका–५ हिर्दिङमा डेरी उद्योग सञ्चालन गर्दै आउनुभएका व्यवसायी नेत्रविक्रम थापा दुई दिनसम्म परेको अविरल वर्षाले खनियाखर्क–तीनकन्या सडक भत्किएर लथालिङ्ग भएको गुनासो गर्नुभयो । ‘वर्षाले सडक भत्काएपछि दूध ढुवानी गर्न सकस भएको छ’, उहाँले भन्नुभयो । गाडी नै चल्न नसक्ने गरी सडक भत्किएको र आउन जानसमेत समस्या भएको उहाँको भनाइ छ । अहिले उक्त सडकमा यात्रा गर्नु निकै जोखिम पूर्ण रहेको उहाँले बताउनुभयो । यातायात बन्द हुँदा गाउँमा उत्पादन भएको कृषि उपज तथा फलफूल कुहिएर जाने डरले किसान चिन्तामा परेका छन् । 

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापामगर ४० किलोमिटर लामो सिन्धुलीमाढी–चकमके सडकको यात्रा जोखिमपूर्ण रहेको बताउनुहुन्छ । ‘उक्त सडकअन्तर्गत कमलामाईको पल्लो रामपुरदेखि हिलेभन्ज्याङ थरहरी क्षेत्रमा धान रोप्न ठिक्क पारेको खेतजस्तै छ सडक’, उहाँले भन्नुभयो ।

सिन्धुलीमाढीदेखि भीमस्थानसम्म १९ किलोमिटर सडक कालोपत्रे गर्न अहिले स्तरोन्नतिको काम भइरहेकाले सडक हिलाम्मे भएको उहाँले बताउनुभयो । त्यस्तै चकमकेदेखि बाहुनतिल्पुङसम्म करिब १० किलोमिटर सडकको बीचमा पर्ने विभिन्न खोलानालामा पुलको अभाव र सडकको मर्मत सम्भार हुन नसकेर यातायात सेवा बन्द हुँदा अहिले त्यस क्षेत्रका बासिन्दा सदरमुकाम आउन र जान तीन दिनसम्मको पैदल हिँड्न बाध्य भएका तीनपाटन गाउँपालिकास्थित बाहुनतिल्पुङ निवासी शिक्षक रामप्रसाद अधिकारी बताउनुहुन्छ ।

हिउँदको समयमा बाहुनतिल्पुङदेखि काठमाडौँसम्म दैनिक रूपमा बस सेवा सञ्चालन हुँदै आएकोमा वर्षा सुरु भएसँगै यातायात सेवा बन्द भएको उहाँले जानकारी दिनुभयो । यातायात सेवा बन्द हुँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत कठिन भएको उहाँले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका सडकमा यातायात  सञ्चालन नहुँदा यहाँ उत्पादन भएका तरकारी, फलफूललगायतका कृषि उपज बजारसम्म पु-याउन समस्या भएको कृषकहरूको गुनासो छ ।