• ८ असार २०८१, शनिबार

कर्णालीका कुसंस्कार समेटिएको नाटक ‘कुटिरो’

blog

सुकृत नेपाल 

काठमाडौँ, असार १९ गते  । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा असार १२ गतेदेखि सुरु भएको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को अन्तिम दिन कर्णाली खस संस्कृति संरक्षण केन्द्र (जुम्ला)को अवधि भाषाको ‘कुटिरो’ मञ्चनसँगै नाट्य उत्सव सकिएको छ । 

आरोहण, गुरुकुल स्कुल अफ थिएटरको सहआयोजनामा भएको नाट्य उत्सवमा देशभरिबाट प्राप्त भएका नाटकमध्ये विभिन्न भाषाभाषीका सातवटा नाटक छनोट भई मञ्चन भएको रङ्गकर्मी तथा प्रतिष्ठानका प्राज्ञ निशा शर्माले जानकारी दिनुभयो । 

नाट्य उत्सवले मुलुकभरिका भाषा र संस्कृतिलाई एकै ठाउँमा ल्याउन सहयोग पु-याएको र नाटककै माध्यमबाट भए पनि एक–अर्काको भाषा, संस्कृति बुझ्ने र सिक्ने अवसर प्राप्त हुने प्राज्ञ शर्माको दाबी छ ।

नाट्य उत्सवको पहिलो दिन लाप्चा उत्थान मञ्च इलामको नाटक ‘स्वर्ग जाने बाटो’ मञ्चन भएको थियो । नाटकले सपनामा देखेका कुराहरूको कथा बताउँछ । घरमा पाहुना बस्न आएका काकासँगको घुलमिल र आफूले देखेको सपनामा स्वर्ग गएको कथा सुनाएपछि गाउँलेहरू बैठक बसी सरसल्लाह गरेर स्वर्ग जाने बाटो बनाउने योजना नै नाटकको प्रमुख कथा हो । नाटकलाई सोङकित लाप्चाले निर्देशन गर्नुभएको हो भने ज्ञानबहादुर लाप्चा, खेमबहादुर लाप्चा, ओङछिरिङ लाप्चा, दिमित लाप्चा, मिनामित लाप्चा, पेमकित लाप्चा, छिकित लाप्चा, राजेन्द्र कट्टेल, सृष्टि राई, सन्जोक घिमिरे र निर्देशक लाप्चा स्वयंको नाटकमा अभिनय रहेको छ ।

उत्सवको दोस्रो र तेस्रो दिन पुरानो घर समूह रौतहटको थारू भाषाको ‘कनन हरलता’ र बाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन गरिएको थियो । महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कथा समेटेर निर्देशक कुन्दन थारूले निर्देशन गर्नुभएको नाटक हो ‘कनन हरलता’ । राजा परीक्षितका छोरा र छिमेकी राज्यकी राजकुमारीबीच भएको वियोगान्त प्रेमकथालाई नाटकमा समेटिएको छ ।

बाम्बुले राई समाज, ओखलढुङ्गाले तयार पारेको नाटक ‘सुम्निमा’मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच, एक निर्दोष नारीमाथि थोपर्दाको प्रतिविम्बित परिघटना र परिणामलाई समावेश गरिएको छ । नाटकलाई कविराज राई र रुपेश लामाले निर्देशन गर्नुभएको हो । नाट्य उत्सवमा ‘सेमुना, ‘होङ्छा’, ‘सुविउ चरी (सिमिक्वा)’ र उत्सवको अन्तिम दिन ‘कुटिरो’ मञ्चन भएका थिए । 

साकेला नाच्दै अरुण नदी किनारमा सँगसँगै यात्रा गर्ने जेठा र कान्छीबीचको प्रेमकथा हो ‘सेमुना’ । किराँतीहरू प्रकृतिमाथि आस्था राख्ने गर्छन्, भूमि पूजा गर्ने उनीहरूको संस्कारदेखि मृत्यु संस्कारसम्मलाई नाटकमा देखाउन खोजिएको छ । कथाकार दिलीप बान्तवाको लेखन रहेको नाटकको परिकल्पना तथा निर्देशन नीता राईले गर्नुभएको हो ।

यस्तै नाटक ‘होङ्छा खुम्बु’ मुन्धुममा आधारित नाटक हो । नाटकले सृष्टिकालीन सांस्कृतिक विकासलाई देखाउन खोजेको छ । नाटकमा मुन्धुमी नाट्य घटना छन् । सीप सिकाइ, जीवनभोगाइ, माया, प्रेम, विवाह, बुलु, बालाम र सिली जस्ता संस्कृतिलाई नाटकमा देखाइएको छ । नाटकलाई प्रवीण पुमाले निर्देशन गर्नुभएको हो । 

‘सुविउ चरी’ अर्थात् सिमिक्वा भन्नाले आदिम किराँतकालको लोककथा भन्ने बुझिन्छ । यो एउटा चराको नाम हो, जसको एउटा छुट्टै मिथक छ । सिमिक्वा लोककथामा आमाछोरीको कथा हो । आमाले घरनिकाला गरेपछि छोरी कहाँ हराई भनेर बिलौना गाउँदै छोरीको खोजीमा निस्किएकी आमाको कथालाई नाटकमा देखाउन खोजिएको छ । नाटकलाई विक्रम फागो र चेतन आङथुपोले निर्देशन गर्नुभएको हो । 

यस्तै खस भाषामा आधारित उत्सवको अन्तिम दिन मञ्चन भएको नाटक हो ‘कुटिरो’ । कर्णालीका पहिलेका केही कुसंस्कारलाई एउटा छोरीले बाल्यकालको अवस्थादेखि भोग्नुपरेको दुःख र पीडाको कुरा नाटकमा प्रस्ट पारिएको छ । कर्णालीमा पहिलो छोरी जन्मेपछि ८–१० वर्षसम्म आमाबाबुले कुटिरो (छोरी कुटुम्बका छोरालाई पछि विवाह गरिदिन स्वीकार गरेको दालको पोको) खाएर दिने चलनको परम्परालाई नाटकमा नाटकीय स्वरूपमा देखाउन खोजिएको छ । नाटकलाई रत्रीबहादुर घर्तीले निर्देशन गर्नुभएको हो । नाटकका लेखक भानुभक्त उपाध्याय हुनुुहुन्छ ।