माघ लहैली
सुरिक सिकार खैली रे हा
सखिय हो
माघक पिली गुरिगुरी जार ।
थारूबहुल गाउँबस्तीमा यिनै भाका गुन्जिरहेका छन् तथापि माघेसङ्क्रान्तिलाई माघ, माघी, तिलासङ्क्रान्ति, मकरसङ्क्रान्ति, खिचरापर्वका रूपमा नेपाली समाजमा मनाइन्छ । खास गरी मगर, थारू, नेवार, छन्त्याल, थकालीलगायत जातिले आफ्नै तरिकाले यो पर्व मनाउँछन् । तराईमा तिलासङ्क्रान्ति वा खिचरापर्वका रूपमा मनाइन्छ । नेवार समुदायले ‘घ्यः चाकु सन्हु’ पर्वका रूपमा मनाउँछन् ।
धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने भएकाले माघेसङ्क्रान्तिलाई मकरसङ्क्रान्ति पनि भनिन्छ । माघेसङ्क्रान्तिमा चितवनको देवघाट, सुनसरीको वराहक्षेत्र, सिन्धुलीको कमलामाई स्थान, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा, रिडीको रुरु क्षेत्रलगायत स्थानमा मेला लाग्ने गरेको छ । माघपर्व थारू जातिको मौलिक संस्कृति, परम्परा र पहिचान बन्दै आएको छ । माघपर्वका अवसरमा मिठोमसिनो खाने, दिदीबहिनीलाई निस्राउ (उपहार) दिने, नाचगान गर्ने तथा परिवारजन र आफन्तबिच खुसी साटासाट गर्ने चलन छ ।
यस समयमा धुमरु गाउने, डफ बजाउने, मघौटानाच, छोक्रानाच जस्ता परम्परागत नाच नाच्ने गरिन्छ । यतिबेला ‘सखियै हो, माघक पिली गुरीगुरी जाँरु...’ भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ ।
माघपर्व खास गरी माघ महिनाको पहिलो हप्तासम्म मनाउने गरिन्छ । माघको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिनलाई थारू समुदायमा ‘जिटा मर्ना दिन’ भनिन्छ । यस दिन थारू समुदायका गाउँ गाउँमा सुँगुर काट्ने र घर घरमा सुँगुरको मासु भित्र्याउने परम्परा रहिआएको छ । सोही दिन रातभर नाचगान तथा सामूहिक रमाइलो गर्दै पर्वको पूर्वसन्ध्या उत्साहका साथ मनाइन्छ । यस अवसरमा छरछिमेकका घरमा गई ‘माघक टिप्पा’ चाख्ने चलन रहिआएको छ । यस क्रममा अनदीबाट बनाइएको गुलियो जाँड र सुँगुरको मासु खाने खुवाउने गरिन्छ; जसले आपसी सद्भाव, भाइचारा र सामुदायिक एकता थप मजबुत बनाउने काम गर्छ । ‘जिटा मर्ना दिन’ को रातभरि डफ बजाउने, ‘ढुमरु’ गीत र छोव्रmा, झुम्रानाच नाच्ने गरिन्छ । यस पर्व अन्तर्गत ‘माघ लहान’ अर्थात् माघ १ गतेलाई सबैभन्दा प्रमुख दिनका रूपमा लिइन्छ । तिथि अनुसार यो दिन मकरसङ्क्रान्ति पर्छ । यस दिन कुनै पनि किसिमको बलि चढाउने वा काटमार गर्न हुँदैन भन्ने सामाजिक मान्यता रहिआएको छ ।
माघ लहान
माघ १ मा बिहान भालेको पहिलो पहर सुरु हुन्छ । त्यही बेला घरका सानाठुला पुरुष सबै जना सकेसम्म नदीको दोभानमा वा दुई नदीको सङ्गममा बाजागाजासहित माघ लहान (नुहाउन) जाने गरिन्छ । यता घरमा महिला बढी व्यस्त हुनुपर्ने भएकाले नजिकमा पर्ने कुवा, घाट वा खोलानालामा गएर नुहाउने गर्छन् । बाटोमा कलश बनाई कन्याकेटीहरूले बाटो छेक्ने गर्छन् । पुरुषहरू नुहाएर आउँदा उक्त कलशमा पैसा चढाउनु पर्छ । यता महिला (गधुन्र्या) ले ‘निस्राउ’ को सरसामान तयार पार्ने गर्छन् । सन्तान नभएका वा जन्मे पनि मरिहाल्ने जोडीले यस दिन कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको वरदान माग्ने गर्छन् । नुहाउने क्रममा तामा/दल्लर/छिल्लरका दुई वटा पैसा लिई नदीमा पहिलो पटक डुबुल्की मार्दा साथमा लिई (खुट्टाले च्यापेर) पानीभित्र छोडिदिनु पर्छ । नुहाइसकेपछि लुगा फेरी एउटा अम्खोरामा केही पैसा, फूल, अक्षता र जल राखी ढुङ्गाको देवता (महादेव) बनाई एकाग्र मनचित्त गराई अर्पण गरिन्छ ।
आफ्नो समूहका सबै जनाले जल अर्पण गरिसकेपछि टीका लगाउने गरिन्छ । सबभन्दा पाको मान्छेले पहिले आफूले टीका ग्रहण गरेपछि भाइ, छोरा, भतिजा, नाति र अन्य सबैलाई टीका लगाइदिई आशीर्वाद दिने चलन छ । यस बेला साइनो अनुसारको ढोग र स्यावा पनि गरिन्छ । थारू चलन अनुसार चामलको पिठोको सेतो टीका लगाउने गरिन्छ । यो टीका लगाउने कार्य नदी किनारमै हुन्छ ।
निस्राउ कहार्ने
नुहाइसकेर घरमा फर्केपछि सबै पुरुषले सर्वप्रथम ‘निस्राउ कहार्ने’ गर्छन् । यसका लागि घरको एउटा कोठामा चामल, नुन, उर्द (मासको दाल) छुट्टाछुट्टै भाँडामा पुस्ता अनुसार अलग अलग समूह बनाई राखिएको हुन्छ । यिनै चालम, नुन र उर्दलाई अर्को छुट्टै भाँडामा पाँच/पाँच अँजुली झिकेर राखिन्छ । यो प्रव्रिmयालाई ‘निस्राउ कहर्ना’ भनिन्छ । कतिपय ठाउँमा निस्राउ राखिएको भाँडोलाई छोए पुग्छ । एक घरमा कैयौँ पुस्ताका निस्राउ कहार्नेहरू भए हरेक पुस्ताका लागि अगल अलग ‘निस्राउ कहर्ना’ व्यवस्था गरिएको हुन्छ । यो निस्राउ जति झिकेर राखेको छ, त्यसैमा केही थपेर माघी–देवानीको दिनमा दिदीबहिनीलाई दिन जाने गरिन्छ ।
‘निस्राउ कहर्ना’ सकेपछि घरको सबैभन्दा जेठो, महिला वा पुरुषबाट सुरु गरी आफूभन्दा पाका सबैसँग स्यावा (ढोगभेट) लाग्ने र आशिष् लिने गरिन्छ । जाडो भएको हुनाले घरको बहरीमा धुनी लगाइएको हुन्छ । त्यो धुनीमा टिल हाली पवित्र गर्ने गरिन्छ । त्यही धुनीवरिपरि घरका सबै जना बसेर विभिन्न परिकार खाने गर्छन् तथापि नेपालभर छरिएर रहेका थारू जातिले आआफ्ना स्थानविशेषले फरक फरक परिकार खाने गरेको पाइन्छ । जस्तै अनदीको जाँड, दारु, माछा, मासु (सुँगुर, बङ्गुर, खसी, कुखुरा आदिको), ढिकरी, रोटी, तिलको लड्डु, मुरही, चामलको सठौरा, केराको तरुवा, तरुल, गैँजी (सखरखण्ड), अनदीको उसिनेको भात, खिचडी आदि ।

आआफ्ना घरमा ढोग स्यावा लागेर खानपिन सकेपछि छरछिमेक गाउँघरमा आफ्ना मान्यजनसँग ढोग स्यावा लागेर आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद दिँदा सँगै पैसा दिने पनि गरिन्छ । यस दिन सम्बन्ध बिग्रेका र बोलचाल बन्द भएकाको घरमा गएर पनि स्यावा ढोग लाग्ने गरिन्छ ।
दिदीबहिनीलाई निस्राउ
माघपर्वको भोलिपल्ट ‘माघी–दिवानी’ का दिन दाजुभाइले दिदीबहिनीलाई ‘निस्राउ’ वा कोसेली अनिवार्य रूपमा दिन जाने चलन छ । कोसेलीमा अघिल्लो दिन अलग्याएको ‘निस्राउ’ चामल, नुन, दाल र विभिन्न परिकार (ढिकरी, रोटी, माछा, मासु) आदि समावेश गरिएको हुन्छ । थारू समुदायमा दाजुभाइले दिदीबहिनीलाई पठाउने ‘निस्राउ’ को ठुलो महŒव रहेको छ । निस्राउ दिन आउने आफ्ना दाजुभाइको स्वागत गरी मिठा मिठा खानेकुरा खुवाउन थारू चेलीहरू खुबै खुसी मान्दछन् । यसले दाजुभाइ तथा दिदीबहिनीबिचको सम्बन्ध अझ प्रगाढ र जीवन्त बनाउन सहयोग गरेको पाइन्छ ।
माघ परिकार
माघेसङ्व्रmान्तिमा सबै नेपालीका घरमा विशेष परिकार पाक्छ नै । केही नभए पनि तरुल, सखरखण्ड त पाकेकै हुन्छ । थारू परिवारमा चाहिँ विशेष परिकारहरू तयार पारिएको हुन्छ ।
ती परिकारमा सुँगुरको मासु, ढिकरी, रोटी, माछा, मासु, बयरको चटनी, अचार, तरुल, गैँजी, तिलको लड्डु, मुरही, चामलको सठौरा, तरुवा, खरिया÷बरिया, घोँगी, अनदीको उसिनेको भात, खिचडी र अन्य तरकारी रहन्छन् । जाँड, जाँडको झोल, रक्सी विशेष पिउने तरल
पदार्थ रहन्छन् ।
माघमा मघौटा
माघ लहैली पर्ह नही पैली रे हाँ,
लिखा देहो बाबा स्कुली म नाउँ
सखिय हो ।
माघ लहैली पर्ह नही पैली रे हाँ,
सखिय हो लानी देहो बाबा किताब कापी कलम ।
माघपर्वमा ‘जिटा मर्ना दिन’ देखि माघको एक हप्तासम्म घरका सबै छोराछोरी, नातिनातिनी, भाइबहिनी, भतिजाभतिजी तथा काम गर्ने अन्य मानिस सबै कामबाट स्वतन्त्र हुन्छन् । यही बेला आआफ्ना समूह बनाई विभिन्न खालको नाचगान गर्ने गरिन्छ । नाचगानमा, मघौटा, झुमरा र छोकरा नाच नाच्ने गरिन्छ । नाचगान घर घरमा गएर नाच्ने र घरधनीले पैसा लुटाउने गर्छन् । पैसा लुट्ने भन्नाले दरी, च्यादर वा तन्ना भुइँमा बिछ्याएर त्यसमाथि पैसा राखिन्छ । त्यही पैसालाई नाच्ने नचिन्याले पछाडि फर्केर आँखा वा मुखले च्यापी पैसा उठाई लिने कलात्मक प्रस्तुति हो । यस्तो नाचगान तीनचार दिनदेखि हप्ता दिनसम्म गाउँघरमा चल्दछ । मघौटा, झुमरा र छोकरा नाचको आफ्नै किसिमको लय, ताल र गीत हुन्छ ।
घरभित्रै नेतृत्व
माघको पहिलो र दोस्रो दिनपछि परिवारका सबै सदस्य एकै स्थानमा भेला भई विशेष रूपमा तयार गरिएका स्वादिष्ट परिकारहरू सँगै खाने र घरव्यवहारसम्बन्धी विषयमा विस्तृत छलफल गर्ने परम्परा थारू समुदायमा छ । आगामी वर्षमा गर्नुपर्ने र गर्नु नपर्ने कार्यका बारेमा सामूहिक निर्णय गरिन्छ । यस्ता छलफलका प्रमुख विषयमा गरधुरिया (घरमूली) चयन गर्ने, छारा गर्ने वा नगर्ने, घर फुटाउने कि नफुटाउने, विवाह गर्ने वा नगर्ने, खोजनी–बोजनी गर्ने, खेत जोत्न वा छोड्न दिने÷नदिने, जग्गाधनी र जोताहाबिचका सर्तहरू तय गर्ने, घरायसी लेनदेनको समीक्षा गर्ने तथा आगामी वर्षका लागि योजना निर्माण गर्नेलगायतका विषय पर्छन् ।
खेर्या–खैना
माघको तेस्रो दिनदेखि करिब सातौँ दिनसम्म गाउँस्तरका सामूहिक कार्यहरूको टुङ्गो लगाउने चलन थारू समाजमा छ । यसका लागि गाउँका प्रत्येक किसानका घरबाट विशेष गरी गरधुरियाहरू (घरमूली) बडघर वा भलमनसाका घरमा भेला हुन्छन् । यस भेलालाई स्थानीय रूपमा ‘खेर्या–खैना’ भनिन्छ । यस भेलामा गाउँको साझा हितसँग सम्बन्धित विविध विषयमा छलफल तथा निर्णय गरिन्छ । जस्तै– साझा कुल्वा, भरवा, बेठबेगारी तथा अन्य सार्वजनिक काममा प्रत्येक घरधुरीबाट कति जनशक्ति उपलब्ध गराउने; गाउँका साझा देवीदेवताका पूजापाठका लागि भुइँयार गुरुवा, केसौका, चिरक्या तोक्ने; महटाँवा (बडघर/भलमन्सा), चौकीदार, कामी, कुम्हार जस्ता सेवाकर्मी चयन गर्ने; तिहाई (सेवा–प्रतिफल) कसरी दिने र उठाउने भन्ने व्यवस्था मिलाउने; साथै बाटोघाटो, पुलपुलेसा र देउथान निर्माण जस्ता सामुदायिक पूर्वाधारका विषयमा निर्णय गर्ने कार्य गरिन्छ ।

सामाजिक रूपमा माघपर्व पारिवारिक पुनर्मिलन र सामुदायिक ऐक्यबद्धताको अवसर हो । आर्थिक दृष्टिले पनि माघपर्वको विशेष महŒव रहिआएको छ । यस अवसरमा वार्षिक हिसाबकिताब मिलाउने, श्रमिक र मालिकबिच नयाँ समझदारी गर्ने तथा आर्थिक जिम्मेवारीको पुनर्संरचना गर्ने चलन रहेको छ; जसले समुदायको आर्थिक जीवनलाई व्यवस्थित गर्न सहयोग पुर्याउँछ । यसरी माघपर्व थारू समुदायका लागि केवल सांस्कृतिक उत्सव मात्र नभई पहिचान, एकता, सांस्कृतिक संरक्षण र सामाजिक–आर्थिक जीवनको मार्गदर्शक पर्वका रूपमा स्थापित रहेको छ ।
थारू समुदायको सामाजिक संरचना, आर्थिक सम्बन्ध र सांस्कृतिक निरन्तरतासँग गहिरो रूपमा माघपर्व जोडिएको छ । सांस्कृतिक दृष्टिले माघपर्व थारू समुदायको मौलिक नाचगान, गीत, वेशभूषा, भाषा र खानपानलाई जीवित राख्ने महत्वपूर्ण माध्यम हो । मघौटानाच, छोक्रानाच, धुमरु गीत, डफ जस्ता परम्परागत सांस्कृतिक अभ्यास माघकै अवसरमा पुस्तान्तरण गरिने भएकाले यस पर्वले सांस्कृतिक निरन्तरतामा केन्द्रीय भूमिका निर्वाह गर्छ । त्यसैले त उनीहरू गाउँघरमा जुट्छन् अनि छमछमी नाच्दै गाउँछन्–
बाबाके सगरुवा मुरिया लाहन गैनु हाँ,
सेन्दुरा छुटल, पानी घाट सखिय हो ।
बाबाके सगरुवा मुरिया लाहन गैनु हाँ,
टिकुली छुटल, पानी घाट सखिय हो ।