• १३ पुस २०८१, शनिबार

‘गिरिजाप्रसादबाट सिक्ने धेरै कुरा छन्’

blog

गोरखापत्र अनलाइन 

कठमाडौं, असार १८ गते । पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले गिरिजाप्रसाद कोइरालाको दृढ इच्छाशक्तिले नै २०६२-०६३ को आन्दोलन सफल भएको बताउनु भएको छ । उहाँले कोइरालामा आफूलाई गाली गर्नेलाई पनि क्षमा दिने गुण रहेको र गिरिजाबाबुबाट सिक्ने धेरै कुरा रहेको उल्लेख गर्नुभयो । 

गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्म जयन्तीको सन्दर्भमा तारकेश्वर नगरपालिकामा नेपाल टे«ड युनियन काँग्रेस काठमाडौं जिल्ला समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता प्रधानले सो कुरा बताउनु भएको हो ।

 

कार्यक्रमका वक्ताहरूले कोइरालाकै नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन भएको तर पनि अहिलेसम्म अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा ल्याउन नसकिएको चर्चा गर्नुभयो । मकै पोलेर बसेकी वृद्ध आमालाई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जबर्जस्ती गरेर हटाएको विरोध गर्दै वक्ताहरूले कुनै पनि सरकारले श्रमिकमाथि जबर्जस्ती गर्न नमिल्ने धारणा राख्नुभयो । 

यसैगरी, टे«ड युनियन काँग्रेसका पूर्व अध्यक्ष पुष्कर आचार्यले देशका ७५३ वटै स्थानीय तहमा टे«ड युनियन काँग्रेसको संरचना तयार गरिने बताउनुभयो । 

कार्यक्रममा उपाध्यक्ष तेजेन्द्र कार्की, उपमहासचिव राधिका कुइकेल र गणेश के.सी, तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सिर्जना बुर्लाकोटी, काँग्रेसका स्थानीय नेताहरू कृष्णमान श्रेष्ठ, विष्णुभक्त तिमिल्सिना, श्यामकृष्ण खड्गीलगायतले श्रमिकले भोग्नु परेका समस्याबारे चर्चा गर्नुभयो ।

यसैबीच, अच्युत ओझाको अध्यक्षतामा नेपाल टे«ड युनियन काँग्रेस तारकेश्वर नगर समिति गठन गरिएको छ ।