• २४ पुस २०८१, बुधबार

खेल पर्यटन सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ

blog

अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ। तस्बिर : गोरखापत्र

काठमाडौं, असार १८ गते । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभएको छ । विश्व खेलकुद पत्रकार दिवसका अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा खेल पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वयमा खेल पर्यटनलाई प्राथमिकतामा राखिने बताउनुभएको हो । 

‘चुनावी सरकार भएका कारण केही पर्यटन क्षेत्रमा केही नयाँ काम सुरुवात गरेर जाउ भन्ने छ । त्यसलाई अरुले अघि बढाओस् भन्ने सोच हो । सरकारको निति तथा कार्यक्रमले पनि साहसिक खेललाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्नेछु,’ श्रेष्ठले भन्नुभयो । उहाँले नेपालमा साहसिक खेल पर्यटनको ठूलो सम्भवना रहेकोले यसमा पर्यटनसँग सम्बन्धित निकायसँग मिलेर काम गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो,‘स्पोर्टस टुरिजममा एक खालको साहसिक खेल छ । अर्को एमेच्योर स्पोर्ट्सको नेतृत्व खेलकुद मन्त्रालयले गर्नुपर्छ । हामीले एक आपसमा समन्वय र सहकार्य गरेर काम गर्न सक्नेछौं ।’ मन्त्री श्रेष्ठले आफुले कोभिड–१९ले थला परेको पर्यटन क्षेत्रका विविध विषयलाई केन्द्रमा राखेर अघि बढ्ने तयारीमा आफु रहेको पनि बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्य सचिव रहनुभएका श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । नवनियुक्त मन्त्री श्रेष्ठलाई मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र एआर्इपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।