• १२ साउन २०८१, शनिबार

नेपालगञ्ज मेडिकल कलेजले प्रहरीलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने

blog

सम्झौता पत्र आदानप्रदानपछि दुबै संस्थाका अधिकारीहरु । तस्विर ः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, असार १८ गते । नेपालगञ्ज मेडिकल कलेज र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । 

नेपालगञ्ज मेडिकल कलेजका नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।  

उहाँले मध्यपश्चिम प्रहरी अस्पतालबाट सिफारिस भएा प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको बताउनुभयो । 

यस्तै, अन्य उपचारमा भने १५ प्रतिशत छुट दिने सम्झौता समेत भएको मेडिकल कलेजले जनाएको छ ।

सोही प्रकारले प्रहरी परिवारका सदस्य विरामी भएर प्रहरी अस्पतालबाट सिफारि भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका प्रहरी उपरीक्षक डा. दीपा न्हूछेँ प्रधानले बताउनुभयो । उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको प्रहरी उपरीक्षक डा. प्रधानले बताउनुभयो ।

उक्त सम्भौतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी शिक्षण अस्पताल नेपालगञ्जका प्रमुख कार्यकारी अधिकृत डा. सुनिलकुमार सिंह र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालको तर्फबाट प्रहरी उपरीक्षक डा. दीपा न्हूछेँ प्रधानले हस्ताक्षर गरेर आदानप्रदान गर्नुभएको मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालका डिएसपी डा. आनन्द झाले जानकारी दिनुभयो ।