• २८ असोज २०८२, मङ्गलबार

सेयर दिएपछि भोटेकोशी जलविद्युत् सुचारु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । स्थानीयको अवरोधका कारण लामो समयदेखि बन्द भएको भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुचारु भएको छ । 

४५ मेगावाट क्षमताको सो आयोजनाको प्रवर्धक कम्पनी भोटेकोशी पावर कम्पनी प्रालिले १० प्रतिशत सेयर जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेडलाई दिने सहमति भएपछि आयोजना सुचारु भएको हो ।

जेनजी इन्भेस्टमेन्ट कम्पनीमा जलविद्युत् आयोजनाका प्रत्यक्ष प्रभावित सबै सदस्यका रूपमा आबद्ध हुने र त्यसपछि कम्पनीले सेयर हस्तान्तरण गर्ने सहमति भएको छ । 

कम्पनीले यसअघि २०७१ सालमै छ प्रतिशत सेयर स्थानीयलाई दिने भनेको तर नदिएको र अहिले १० प्रतिशत सेयर अङ्कित मूल्य प्रतिकित्ता एक सय रुपियाँका दरले उपलब्ध गराउने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ ।

सहमतिपत्रमा जेनजी पब्लिक इन्भेस्टमेन्ट कम्पनीका तर्फबाट अध्यक्ष फुर्पा शेर्पा, सदस्यहरू साङ्गे शेर्पा, वीरबहादुर लामा र मिङ्मार शेर्पाले हस्ताक्षर गर्नुभएको छ । आयोजना प्रवर्धकका तर्फबाट कम्पनी सचिव विश्वमोहन कर्माचार्य, सहायक महाप्रबन्धक बबिन प्रधान र सहायक प्रबन्धक प्रेम साउदले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता अनुसार कम्पनीले आगामी एक वर्षमा प्राप्त गर्ने लाभांशबाट चुक्ता गर्ने गरी जेनजी कम्पनीले कर्जा लिएर सेयरबापतको रकम भुक्तान गर्ने छ । सो रकमले नपुगेमा जलविद्युत् कम्पनीले नै सकार्ने सम्झौतापत्रमा उल्लेख छ । 

त्यस्तै गरी भोटेकोशी पावर प्रालिले भोटेकोशी गाउँपालिकालाई सामाजिक उत्तरदायित्वबापत एकमुस्ट दुई करोड ५० लाख रुपियाँ पनि दिने सहमति भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले यस्तो सहमति सकारात्मक भए पनि यसले अन्य आयोजनामा पनि सेयर माग्न जबरजस्ती हुने खतरा बढेको बताउनुभयो । आयोजना निर्माणका क्रममा सेयर जारी गर्न सरकारले रोक्ने तर स्थानीयले आन्दोलन गर्ने प्रवृत्ति बढ्ने खतरा रहेको औँल्याउनुभयो ।

“यो घटनालाई हेरेर सरकारले निर्माणको प्रक्रियामा रहेका आयोजनालाई तत्काल सर्वसाधारण सेयर जारी गर्न दिनुपर्ने पाठ सिकाएको छ,” उहाँले भन्नुभयो ।

निर्माणको २० वर्ष पूरा भएपछि सो कम्पनीमा सन् २०२६ देखि नेपाल विद्युत् प्राधिकरणको समेत आधा स्वामित्व रहनुपर्ने थियो तर २०७२ सालको भूकम्पका कारण यसको म्याद चार वर्ष थपेर सन् २०३० सम्म पु¥याइएको थियो ।