• २१ असार २०८१, शुक्रबार

झोलुङ्गेपुलमा पर्यटक आकर्षित

blog

दार्चुला समाचारदाता

दार्चुला, असार १७ गते ।  अपिनाम्पा संरक्षण क्षेत्रको कालागाड खोलामाथि निर्माणाधीन बहुउद्देश्यीय झोलुङ्गेपुलमा पर्यटकीय आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका केन्द्रनजिकै रहेको झोलुङ्गेपुलले खर्रा र चल्लेगाडालाई जोड्नेछ । ३७२ मिटर लम्बाइको सो पुल १९० मिटर उचाइमा छ । अग्लो र लामो पुल भएकाले चिसो हावा लाग्ने गर्छ । सोही कारणले समेत स्थानीयका लागि झोलुङ्गेपुल आकर्षणको केन्द्र बनेको छ । दार्चुलाकै सानो तर पर्यटकीय हिसाबले महत्त्वपूर्ण दुहुँ गाउँपालिकामा साहसिक पर्यटक भित्र्याउने योजना गाउँपालिकाको छ । सो पुलमा बन्जीजम्पसमेत जडान गर्ने योजना छ । दार्चुला सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टा गाडी यात्रापछि यो पुलमा पुग्न सकिन्छ ।

पुल निर्माण सकिएको छैन तर पर्यटकको आकर्षण बढ्दै गएको छ । दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालका अनुसार पुल निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेको छ । समयमै पुल निर्माण सम्पन्न गराउन पालिकाको पहल जारी रहेको अध्यक्ष बडालले बताउनुभयो । सो क्षेत्रको पर्यटन विकासका लागि पुल क्षेत्र हुँदै पदमार्गको निर्माण र बन्जीजम्पको सुविधा राख्ने पालिकाको योजना छ । दुहुँ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र जोशीका अनुसार पुलको करिब १० प्रतिशत काम अझै बाँकी छ ।निर्माण व्यवसायी सम्पर्कमा नआएका कारण पुलको भार परीक्षणसमेत हुन सकेको छैन । ठेकेदारको ५० लाख बढी धरौटी समेत गाउँपालिकामै रहेकाले ठेकेदारलाई सम्पर्कमा ल्याएर बाँकी काम पूरा गराउने प्रयास भइरहेको दुहुँका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र बडालले बताउनुभयो । 

नेपाल सरकार र दुहुँ गाउँपालिकाको आर्थिक सहयोग र ट्राइल ब्रिज युनिट काठमाडौँ, हेल्बटास नेपाल तथा समाज कल्याण समाजको प्राविधिक सहयोगमा बहुउद्देश्यीय झोलुङ्गेपुल निर्माण गरिएको हो । गाउँपालिकामार्फत दुई करोड १७ लाख लगानी र अन्य सम्पूर्ण प्राविधिक सहयोग हेल्बटास तथा समाज कल्याण समाजको छ । पुलमा भारवहन क्षमता परीक्षण अझै हुनसकेको छैन । स्थानीय प्रेमराज जोशीले पुलको भारवहन क्षमता परीक्षण नभए पनि घुम्न आउने पर्यटक बढेको बताउनुभयो । पुलमा भेटिएका भारतीय नागरिक आशिष वर्माले पुल निकै आकर्षक बनेको र प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने बताउनुभयो । जिल्लाकै सबैभन्दा लामो झोलुङ्गेपुल भएका कारणले पनि स्थानीय पर्यटकको आकर्षण बढेको जोशीको बुझाइ छ । दार्चुला–तिङ्कर सडकलाई स्तरोन्नति गर्न सके यो ठाउँमा भारतीय पर्यटक बढ्न सक्ने अपेक्षा स्थानीयको छ ।