• १३ साउन २०८१, आइतबार

‘सबै जिल्लामा फिल्म सिटी सम्भव’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १७ गते ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगका रूपमा विकास गर्दैै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल बनाउन सकिने बताउनुभएको छ । 

चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले चलचित्र विकासका लागि अहिले रहेका चुनौतीलाई अवसरका रूपमा परिणत गर्दै अघि बढे चलचित्र क्षेत्रबाट देशलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

उहाँले चलचित्र छायाङ्कनका लागि विश्वको ध्यान नेपालतर्फ आकर्षित गरेर नेपाललाई १० वर्षमै दक्षिण एसियाकै धनी देश बनाउन सकिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले दोलखालाई मात्रै फिल्म सिटीका रूपमा चिन्दै आएका छौँ तर देशभरका हरेक जिल्लामा यस्ता सिटी निर्माण सम्भव रहेकाले चलचित्रको विकासबाट मात्रै पनि मुलुकको आर्थिक विकास गर्न सकिन्छ ।”

अन्य देशले चलचित्र छायाङ्कनको क्षेत्रमा प्रविधिको अधिकतम विकास गर्दै आएको बताउँदै उहाँले नेपालले पनि आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना गर्दै प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । चलचित्रको विकासबाट विश्वको ध्यानाकर्षण गर्न र यस क्षेत्रलाई विशिष्ट उद्योगका रूपमा विकास गर्ने उद्देश्यअनुरूप मन्त्रालयले त्यससँग सम्बन्धित ऐन, कानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको उहाँको भनाइ छ ।

नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै उहाँले चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रका रूपमा विकास गरिने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाली चलचित्रको विकासका लागि दर्शकको चाहना र समयको मागअनुसार स्क्रिप्ट, कथा, पटकथा, द्वन्द्व, सङ्गीत, नित्यलगायत प्राविधिक पक्षमा ध्यान दिँदै गुणस्तरीय चलचित्र निर्माणमा जोड दिन आग्रह गर्नुभयो । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्न देश बाहिरसमेत प्रदर्शनमा लैजान सकिने बताउँदै उहाँले नेपाली चलचित्रमा विदेशी लगानी भित्र्याउने विषयमा लगानी बोर्डसँग छलफल भइरहेको बताउनुभयो । 

बोर्डका सदस्यसचिव टङ्कबहादुर महतले बोर्डकै पहलमा कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रबारे समावेश गरी अहिले अध्ययन भइरहेको बताउनुभयो ।

उक्त अवसरमा बोर्डले ‘उत्कृष्ट कर्मचारी सम्मान–२०७७’ कार्यालय सहयोगी हरिबहादुर केसी र सहायक खरिदार सिर्जना रायमाझीलाई प्रदान गरेको छ। त्यसैगरी २०७८ सालको उत्कृष्ट कर्मचारी पुरस्कार सहायक खरिदारद्वय रेणुमाया लामा र रञ्जन अधिकारीलाई प्रदान गरिएको छ । कार्यक्रममार्फत बोर्डले भुवन केसी, डा. भोला रिजाल, सानुकुमार ताम्राकार, राजाराम पौडेल, शिव ढकाल र किरणकुमार केसीलगायत ६२ जना चलचित्रकर्मीलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ ।