धीरेन्द्रप्रसाद साह
राजविराज, असोज १५ गते । बडा दसैं पर्वको महाअष्टमीका दिन पारिवारिक सुख, शान्ति, तथा सन्तोष प्राप्तिका लागि श्रद्धालु महिलाहरुले आराध्यादेवी दुर्गा भगवतीको खोइछा (पोल्टा) भरिएको छ ।
श्रद्धालु भक्तजन ब्रती महिलाहरुले भगवतीदेवीको प्रतिमामा खोंइछा (पोल्टा) भरेका हुन् । प्रत्येक वर्षझै यसवर्ष पनि दसैंको फूलपातीको दिन सूर्यास्तसँगै महानवमीसम्म खोइछा भर्ने गरिन्छ । मुख्यतः महाष्टमीका दिन बढी संख्यामा खोइछा भर्नेगरेको पाइन्छ ।
श्रद्धालु ब्रती महिलाहरुले सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, राजविराजस्थित भगवती मन्दिरसहित विभिन्न स्थानमा निर्माण गरिएको भगवतीको कलात्मक माटोको प्रतिमा खोइछा भरिएको ब्रतालु महिला बिनाकुमारी झाले जानकारी दिनुभयो ।
यसवर्ष खोइछा भर्नेहरुको संख्यामा उल्लेखनीय रहेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो । चण्डेश्वरी भगवती र दुर्गा भगवती मन्दिरमा दर्शनार्थी, श्रद्धालु भक्तजन तथा खोइछा भर्ने ब्रती महिलाहरुको संख्या विगतभन्दा धेरै रहेको उहाँले बताउनुभयो । स्थानीय प्रशासनले दशैंदेखि छठसम्म शक्तिपिठ तथ मन्दिर क्षेत्रभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भगवती देवीको खोइछामा नगद, श्रृङ्गारका सामग्री, अक्षता (अरवा चामल), फूल, चुनरी र नयाँ बस्त्र चढाउने गरिएको ब्रती सुनिता कुमारीले बताउनुभयो । खोइछा भर्ने काम महासप्तमीको दिन सूर्यास्तपछि सुरु हुने गरिन्छ । भगवती देवीलाई पुकारा गरी भाकल गर्ने ब्रतीहरुले खोइछा भर्ने गरिने बताइएको छ ।
भगवतीदेवी प्रतिमालाई सजाएर लगाइएको सारीको अगाडि भागको कुनामा खोइछा भरेर पारिवारिक सुख, शान्ति एवं विशेष भाकल गर्न दुबै हात जोडेर प्रार्थना गरिन्छ । ब्रती महिलाहरुले लगाइएको सारीको आँचल दुबै हातकोबिचमा राखेर ढोग्ने, प्रार्थना गर्ने, एवं भाकल गर्ने गरिन्छ ।
मनोरथ पूरा गराउन वा भाकल मनाउन पनि भगवतीदेवीको खोइछा भर्ने चलन चलेको पण्डित बद्रीनारायण झाले बताउनुभयो । दुर्गा भवानीको लक्ष्मीस्वरुप र बिघ्नहरणीको रुप सम्झेर खोइछा भरिने परम्परा बनेको उहाँको कथन छ ।
भगवती देवीको खोइछा भरेपछि घरमा दरिद्रता, सन्ताप र शारीरिक कष्टबाट मोक्ष प्राप्त भइ पारिवारिक सुख, शान्ति, एवं सन्तुष्टि प्राप्त हुने जनविश्वास रहेको स्थानीय प्रदीप झाले बताउनुभयो ।