• ४ जेठ २०८१, शुक्रबार

दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुुने योजना

blog

दोलखा समाचारदाता

चरीकोट, असार १७ गते  । दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित विश्वास कार्कीले पालिकालाई तरकारी, दूध तथा मासुजन्य वस्तुमा आत्मनिर्भर हुने गरी काम गर्ने बताउनुभएको छ । किसानको उत्थान हुने आलु, प्याज, लसुन, बेसार, अन्डा र मासुजन्य जस्ता वस्तुमा आत्मनिर्भर तुल्याउने गरी काम गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रोत्साहनस्वरूप किसानलाई उत्पादनको आधारमा पालिकाले अनुदान दिने व्यवस्था मिलाउँछु । खेतीका लागि आवश्यक सिँचाइ, मललगायतमा सहजीकरण गर्दै बजारीकरणको पनि बन्दोबस्त मिलाइनेछ ।” 

नीलकण्ठेश्वर माध्यमिक विद्यालयलाई साझेदारीमा आवासीय बनाइने जानकारी दिँदै अध्यक्ष कार्कीले भन्नुभयो, “कृषि र शिक्षामा सक्षम व्यक्ति उत्पादनका लागि एमबीबीएस, कृषि तथा पशु विषयमा उच्च शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेनदारलाई छावृत्तिको व्यवस्था मिलाइनेछ ।”

शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गर्नुका साथै विद्यार्थीलाई दिँदै आइएको दिवा खाजामा विकट विद्यालयका बालबालिकालाई पालिकाले थप १० रुपियाँ दिने व्यवस्था मिलाइनेछ । खानेपानी तथा सिँचाइमा भइरहेका योजनाका अतिरिक्तका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । भौगोलिक तथा माटोको किसिम हेरी अन्न खेती लगाइने पनि व्यवस्था मिलाउन लागिएको उहाँको भनाइ छ । 

यो वर्ष पालिकासम्म आउने सात किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्न सुरुवात गरिनेछ । उहाँले भन्नुभयो, “कच्ची भए पनि आठवटा वडा कार्यालय सडक सञ्जालमा जोडिएका छन् । बाँकी रहेको वडा नम्बर ९ जोड्ने सडक निर्माण सुरुवात गरिनेछ ।” क्रमशः स्तरोन्नति र कालोपत्रे गर्दै लगिने सोच रहेको बताउँदै उहाँले निर्माण हुन बाँकी वडा नम्बर २ र ९ मा वडा कार्यालय भवन निर्माण यसै वर्ष थालिने जानकारी दिनुभयो । 

‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो पटक बसेको गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको छ । दूरदराजका पालिकावासीलाई सेवा प्रवाह सहज बनाउन गाउँपालिकाले सातामा दुई दिन भोर्लेबाट सेवा प्रवाह गर्ने निर्णय गरेको छ । 

यसबाट चङ्खु, मार्वु र खारेकाका स्थानीय लाभान्वित हुने उहाँले बताउनुभयो । पालिकावासीको टड्कारो आवश्यकता सडक स्तरोन्नति, कालोपत्रे, मोटरेबल पुल, कृषि पशु आधुनिकीकरण गरी आयआर्जनका बाटा खुलाउनेमा यो कार्यकालमा तत्परताका साथ लाग्ने उहाँले बताउनुभयो ।