ललित बसेल
सुर्खेत, चैत १८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका मन्त्री र सचिवलाई राखेर पुरानै शैलीबाट काम गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वीरेन्द्रनगरमा आयोजित बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा भइरहेको ढिलाइ र कामको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गर्दै सो निर्देशन दिनुभएको हो ।
उहाँले हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालय तथा निकायलाई तत्काल सुधार गर्न पनि निर्देशन दिनुभयो । “बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नु पर्छ,” उहाँले भन्नुभयो, “समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरूकै हो ।” उहाँले पुरानो कार्यशैलीका कारण विकासनिर्माणका काम प्रभावित भएको भन्दै काम गर्ने तरिका परिवर्तन गर्न आग्रह गर्नुभयो । “पुरानो शैलीलाई सुधार गर्नुहोस्, नयाँ ढङ्गले काम गर्न सिक्नुहोस्,” उहाँले भन्नुभयो, “जनताले परिणाम चाहेका छन्, त्यस अनुसार काम देखिनु पर्छ ।” कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति पनि उहाँले कडा असन्तुष्टि प्रकट गर्नुभयो ।
कुनै पनि मन्त्रालयमा आएका फाइल अनावश्यक रूपमा रोकिन नहुने स्पष्ट पार्दै उहाँले काममा अवरोध गर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्न सुझाव दिनुभयो । “फाइल किन रोकिन्छन् ? यस्तो प्रवृत्ति रोक्नुहोस्, काम अघि बढाउनुहोस्,” उहाँले भन्नुभयो, “यदि कुनै समस्या छ भने मलाई जानकारी गराउनुहोस्, समाधानका लागि म स्वयम् अघि बढ्छु ।” मुख्यमन्त्री कँडेलले बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी आर्थिक मामिला मन्त्रालयको रहेको पनि बताउनुभयो । उहाँले सम्बन्धित मन्त्रालयलाई सक्रिय र उत्तरदायी बन्न आग्रह गर्दै कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस पहल गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “सरकारलाई काम चाहिएको हो, तपाईंहरूले राम्रोसँग काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नसक्ने अवस्था भए त्यसबारे पनि सोच्नुहोस् ।” विकासनिर्माणका काममा ढिलाइ हुँदा जनताबाट गुनासो आउने भएकाले त्यस्तो अवस्था आउन नदिन सबै निकाय सचेत हुनुपर्ने मुख्यमन्त्री कँडेलले जोड दिनुभयो ।
जिल्लास्तरमा रहेका कार्यालयबाट काम सन्तोषजनक नभएको गुनासो आएको उल्लेख गर्दै उहाँले त्यस्ता निकायलाई सुधार गर्न विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहसँग समन्वय गरी परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । त्यसै गरी मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशका नाममा प्रदेशबाहिर हुने बैठकमा अनावश्यक रूपमा सहभागी नहुन पनि निर्देशन दिनुभयो । “जरुरीबाहेकका बैठकमा प्रदेशबाहिर नजानुहोस्,” उहाँले भन्नुभयो, “यदि जानै परे कर्णालीका मुद्दा के के उठाउने भन्नेबारे पहिले छलफल गरेर मात्रै जानुहोस् ।” कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो । कार्यक्रममा बजेट कार्यान्वयनमा देखिएका चुनौती, आयोजना छनोटका मापदण्ड तथा कार्यविधि सुधारका विषयमा विस्तृत छलफल गरिएको थियो ।