• १५ चैत २०८०, बिहिबार

घोडाघोडीले गर्‍यो उत्कृष्ट १२ कृषकलाई सम्मान

blog

सम्मानित भएपछि किसानहरु । तस्बिर : गोरखापत्र

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), असार १६ गते । कैलालीमा बिहीबार १२ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिकाले  नगरका १२ वडाबाट एक एक जना किसान छनौटगरी उत्कृष्ट किसान लाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । 

किसानलाई सम्मान गर्दा उनीहरुमा थप हौसाला र प्रेरेणा मिल्ने भएकोले १२ वटा वडा रहेको नगरपालिकामा प्रत्येक वडाले छनोट गरि ठाएका १२ जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको कृषि शाखा प्रमुख जनक धामीले बताउनुभयो ।

मलखाद, बजार र सिँचाइको अभावले खेती किसानीमा नैराश्यता बढ्दै गएको कृषकहरुले बताएका छन् । उत्कृष्ट कृषकका रुपमा सम्मानीत भएकी घोडाघोडी नगरपालिका ६ की संगीता चौधरीले खेती लगाउने बेला हरेक बर्ष मलखाद अभाव हुने गरकोे गुनासो गर्नुभयो । उहाँले समयमै मल विउ र सिचाईको अभावमा मेहनत अनुसार उत्पादन हुन नसकेको अनुभव समेत सुनाउनुभयो 

यसैगरी सम्मानीत भएका वडा नम्बर ८ का अर्का कृषक धनबहादुर चौधरीले किसानको उत्पादनले बजारीकरण नपाएको दःुखेसो गर्नुभयो । उहाँले भन्नुभयो “हामी कहाँ अहिले पनि बजारको निकै ठुलो समस्या रहेको छ । भारतबाट आएर तरकारी महँगो मूल्यमा बिक्री गर्छन् । तर, हामीहरूले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।’’ चौधरीले  बिउ बिजन सहजैरुपमा प्राप्तगर्ने बातावरण वनाईदिन नगरपालिकासँग आग्रह पनि गर्नुभयो ।

कैलालीमा पछिल्ला केही बर्षदेखि खेतीपाती उत्पादनमा छाडा चौपायाँ ठुलो वाधकको रुपमा देखिदै आएको गुनासो विगतदेखि किसानहरुले गर्दै आएपनि नियन्त्रण हुन सकेको छैन । छाडा चौपायाका कारण किसानले  लगायको बाली नोक्सान हुदै आएको छ । अगिल्लो सरकार र अहिलेको सरकारसँग किसानहरुले छाडा चौपायाको समस्या समाधानका लागि ध्यानार्कषण गराउदै आएका छन् ।  

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले रासायनिक मल भन्दा प्राङ्गारिक मलको बढी प्रयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । पछिल्लो  समय दुध खानेवेला सम्म गाई पाल्ने र सडकमा लगेर छोड्ने गलत प्रवृती बढेको बताउदै नगरप्रमुख रावतले यसको असर किसानलाई पर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “अहिले आएर हामीले गाई गोरु पाल्न छोडेका कारण सडकमा छाडा पशु चौपाया बढेर लगायको बालीमा नोक्सान गरेका छन् भने अर्कोतिर प्राङ्गारिक मलको अभाव हुदै गएको छ । सडकमा छोडिएका गाईलाई सबैले लगेर पाल्दा सडकमा छाडा चौपाया पनि नहुने र मलको पनि अभावमा कम हुन्छ ।” 

रासायनिक मलको अभाव नहुन आफूहरूले प्रदेश र केन्द्रीय सरकारलाई दवाव सिर्जना गर्ने काम गरिरहेको उहाँको भनाई थियो । आगामी बर्षको नीती तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकताका समावेश गरेको जनाउदै उहाँले दुई वडा एक प्राविधिकको व्यवस्थालाई  अगाडि बढाइने बताउनुभयो ।