• १४ वैशाख २०८१, शुक्रबार

माटो बचाउन मेचीकाली म्याराथन दौड

blog

दौडँदै झापा पुग्नुभएका पर्वतका नविन पुनमगर । तस्बिर : गोरखापत्र

बिर्तामोड समाचारदाता

बिर्तामोड, असार १६ गते । माटो जोगाउँ भन्ने मुल नाराका साथ सचेतना जोगाउँदै एक युवा मेचीकाली म्याराथुन दौड सुरु गर्दै झापा आइपुग्नुभएको छ । काठमाडौंको टुंडिखेलबाट १७ दिन पहिले दौड सुरु गर्नुभएका पर्वतका युवा नविन पुनमगरले झापामा आफ्नो सचेतना अभियान सञ्चालन गर्नुभएको छ । 

बिहिबार झापाको कनकाई नगरपालिकास्थित हरिकुल नमुना उच्च माविमा आयोजित सचेतना कार्यक्रममा बोल्दै अभियान्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभूमि हुने गरेको भन्दै यहि तरिकाले माटोको आर्गनिकपन हराउँदै जाने हो भने अवको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाडने समेत बताउनुभयो । 

माटोको आर्गनिकपन कम्तीमा ३ प्रतिशत हुनुपर्नेमा नेपालमा यो प्रतिशत २ भन्दा कम भइसकेको भन्दै नेपालको माटो समेत डेन्जर जोनमा परिसकेको भन्दै यसलाई नरोक्ने हो भने नेपाल समेत चाडै मरुभुमिमा परिणत हुने बताउँनुभयो । 

अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप आर्गनिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । अझैपनि गाउँघरमा रासयनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले आर्गनिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यावस्थापन गरि अर्गानिक मल उत्पादन थालिसकेको जानकारी दिनुभयो । 

मगरको टोलीले बिर्तामोडमा समेत लायन्स क्लबको संयोजनमा माटो जोगाउनका लागि सचेतना कार्यक्रम गरेको छ । मगर बिहिबार नै इलामतर्फ लाग्नुभएको छ । मगरले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथन दौड पुरा गर्दै नेपालको ७७ जिल्लामै माटो जोगाउन सचेतना अभियानसहित दौड पूरा गर्ने लक्ष्य रहेको बताउँनुभयो ।