• १६ चैत २०८०, शुक्रबार

सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग अलपत्र

blog

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको पहिरो । तस्बिर - रेखीराम राना

रेखीराम राना

पाल्पा, असार १७ गते । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । 

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन । 

दश वर्षअघि जिल्ला समन्वय समिति पाल्पाको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको थियो । सोही ट्रयाकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा स्थापित गर्ने योजना अघि सारेको थियो ।  

प्रदेश सरकारले २०७५ सालमा यो सडकका लागि १० करोड रुपियाँ रकम विनियोजन गरेको थियो । त्यस्तै, पाल्पाका सबै स्थानीय तहले पाँचदेखि ३० लाख रुपियाँसम्म विनियोजन गरेर खर्च गरेका थिए । 

हालसम्म रुपन्देही खण्डको १३ किलोमिटर खण्डमा सडक, पुल, कल्भर्ट निर्माण भएको छ । उक्त क्षेत्रमा २० करोड रुपियाँ खर्च भइसकेको छ । पाल्पा क्षेत्रको मुढाबास खण्डमा अर्को वर्षबाट बल्ल स्थायी संरचना निर्माणको काम सुरुवात हुने बताइएको छ । 

पाल्पा क्षेत्रको साढे चार किलोमिटर सडक बनाउन समस्या रहेको प्राविधिक बताउँछन् । उक्त क्षेत्र चुरे क्षेत्रमा पर्ने भएकाले सडकको संरचना बनाउन समस्या भएको रुपन्देही सडक पूर्वाधार कार्यालयका इन्जिनियर ललित न्यौपानेले बताउनुभयो । 

‘मुख्य समस्या नै यहाँ पहिरोको हो, त्यसैले कहिले सम्पन्न हुन्छ, यकिन गर्न सकेका छैनौँ ।’ न्यौपानेले भन्नुभयो ।

सडक कार्यालय पाल्पाका प्रमुख अरुणकुमार गुप्ताका अनुसार पाल्पा खण्डमा पुल, कल्भर्ट र सडक ग्राभेल गर्दासम्म १० करोड ११ लाख ८६ हजार रुपैयाँ खर्च भएको छ । तर उक्त संरचना वर्षाको समयमा पानीसँगै बग्ने गरेको छ । चुरे क्षेत्रको सम्भाव्यता अध्ययनबिना सडक खन्दा, बजेट विनियोजन कम हुँदा र चुरेमा सडक बनाउने प्रणाली नमिल्दा पाँच वर्ष बित्नै लाग्दासमेत वैकल्पिक मार्ग अलपत्र परेको हो ।