• ८ वैशाख २०८१, शनिबार

मधेश सरकारद्वारा शहीद परिवारलाई छात्रवृत्ति र भरणपोषण भत्ता दिइने

blog

एक शहीद परिवार , तस्विर साैजन्य –मधेस युथ

लक्ष्मी चौधरी 

जनकपुरधाम, असार १६ गते । मधेश सरकारले शहीद परिवारलाई भरणपोषण वापत मासिक २१ हजार रुपियाँ दिने भएको छ । भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि २०७९ को दफा (६) बमोजिम जनआन्दालेन, जनयुद्ध र मधेश आन्दोलनका शहीद परिवारलाई मासिक २१ हजार रुपियाँका दरले सो रकम दिने निर्णय गरेको हो ।

प्रतिष्ठानले शहीदका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि पनि छात्रवृत्ति दिने निर्णय गरेको छ । कक्षा १ देखि ६ सम्म १६ हजार रुपियाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपियाँको दरले वर्षको एकमुष्ट छात्रवृत्ति दिने मधेशी शहीद प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीले जानकारी दिनुभयो । 

यसैगरी, जेठ १३ गते सो बारे निर्णय भएकाले यस आर्थिक वर्ष २०७८÷०७९ मा भरणपोषण वापत आर्थिक सहयोग डेढ महिनाको प्रदान गरिने उहाँले बताउनुभयो । 

यसअघि प्रदेश सरकारले ५४२ जना जनयुद्धका शहीद परिवारहरुमध्ये २०७ जना परिवारलाई राहत स्वरुप एक लाख रुपियाँ उपलब्ध गराएको छ भने ३३५ परिवारलाई भने राहत उपलब्ध गराउन बाँकी रहेको जानकारी दिनुभयो । 

यस्तै, मधेश आन्दोलनका ६५ शहीद परिवारलाई जनही तीन लाख रुपियाँ उपलब्ध गराएको छ । जनयुद्धका शहीद परिवारलाई भरणपोषण तथा छात्रवृत्तिका लागि असार १० गते प्रकाशित सूचनामा  असार १७ गतेसम्म निवेदन दिन सकिने उल्लेख छ ।