• १३ वैशाख २०८१, बिहिबार

बाढीपहिरोका कारण सिँचाइ कुलोसहित ६ घर जोखिममा

blog

बैतडीको सिगासगाउँपालिका–३, साउनखेतमा आएको बाढी । तस्बिर सौजन्यः नवीन साउद

गोकर्ण दयाल 

बैतडी, असार १६ गते । पर्यावरणीय अध्ययन विना बस्तीमाथि डोजरले जथाभावी सडक खन्दा आएको बाढी पहिरोले बैतडीको सिगसमा दुई वटा सिँचाइ कुलो बगाउनुका साथै ५० रोपनी खेत र छ वटा घर उच्च जोखिममा परेका छन् । 

बुधबार राति र बिहीबार बिहान परेको वर्षासँगै सिगास गाउँपालिका–३, सिन्याखेत–गर्जे सडकखण्डबाट आएको बाढीले सिगास गाउँपालिका–३, को साउनखेत र गड्तोलागाड खेतको ५० रोपनीभन्दा बढी खेत र छ वटा घर उच्च जोखिममा परेको स्थानीय जस्वीरसिंह साउद ( नवीन)ले जानकारी दिनुभयो । 

सडकबाट आएको बाढी पहिरो खेतमा पसेपछि सिन्याखेतका स्थानीय दानसिंह साउद, करवीर साउद, मानसिंह साउद, कर्ण साउद, जोगा साउद र नवराज साउदको घर उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । 

 

स्थानीयवासी साउदले भन्नुभयो,“ बस्तीमाथि डोजरले सडक खन्दा स्थानीयको उठिबास हुने भएको छ । सडकबाट आएको बाढी र पहिरो बस्तीमा पस्दा स्थानीय त्रसित बनेका छन् । गतवर्ष र यो वर्ष निर्माण गरेका दुई वटा सिँचाइ कुलो र खेत बगायो । जोखिममा परेका परिवार घर छाडेर हिँड्न बाध्य भएका छन् ।”

बाढी पहिरोको विषयमा जानकारी प्राप्त भएकाले थप विवरण बुझ्ने काम भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी पन्थीले भन्नुभयो, “ हिजो (बुधबार) मात्रै जिल्ला प्रशासन कार्यालय बैतडीमा विपद् पूर्व तयारी सम्बन्धी बैठकले सिगास गाउँपालिकासहितका अन्य स्थानमा बाढी पहिरोको जोखिम पहिचान भएको छ । जनधनको क्षति हुन नदिन पालिका स्तरमै आश्रयस्थल निर्माण गर्ने, हेलिप्याड बनाउने र एम्बुलेन्सलगायतका साधन तयारी अवस्थामा राख्ने तयारी भइरहेको छ ।”  

बैतडीको सिगास गाउँपालिका–५, ढुङ्गाडमा गत कात्तिकमा आएको सेती नदीको बाढीले एक सयभन्दा बढी घरपरिवारको खेत बगाएको थियो । सेतीको बाढीले यो वर्ष पनि क्षति गर्ने भएकाले आवश्यक पूर्व तयारी गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।