• १५ चैत २०८०, बिहिबार

मधेश प्रदेशमा युवा महोत्सव

blog

युवा महोत्सव उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत ।

जनकपुर, असार १५ गते। पहिलो मधेश प्रदेश युवा महोत्सव- २०७९ सुरु भएको छ। ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ नाराका महोत्सव बुधबार सुरु भएको हो। प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको महोत्सवको उद्‌घाटन मुख्यमन्त्री लालबाबु राउतले गर्नुभएको छ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बुधबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ। 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले परिवर्तनमा लागि युवा लडेको भन्दै अब विकास समृद्धिका लागि लड्न आह्वान गर्नुभयो।  उहाँले भन्नुभयो, ‘‘युवाले सहि र गलत राजनीति पहिचान गर्नुपर्छ। तब राष्ट्र बन्न सक्छ।’’ 

कार्यक्रमलाई सम्बोधन गर्दै गृह तथा सञ्चारमन्त्री भरत साहले प्रदेश सरकार ल्याउन, मधेश आन्दोलन सफल पार्न युवाले अग्रस्थानमा भूमिका खेलेको उल्लेख गर्नुभयो। 

महोत्सव आयोजक महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका विभागीय मन्त्री वीरेन्द्रप्रसाद सिंहले प्रदेशलाई ‘अग्रजको अनुभव, युवाको ऊर्जा’को आवश्यकता भएको बताउनुभयो। मन्त्री सिंहले विदेशलाई समृद्ध बनाउनसक्ने युवालाई मधेशको समृद्धिमा परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो। 

प्रदेशसभा सदस्य मञ्जु यादवले महोत्सव सकारात्मक सुरुवात भएको उल्लेख गर्नुभयो। खेलकुद मन्त्रालयका सचिव केशवप्रसाद विमलीले युवाको बाहुल्य रहेको प्रदेशमा कार्यक्रमले उत्साह प्रदान गर्ने बताउनुभयो। 

युवा अभियन्ता प्रतिभा मण्डलले महोत्सव युवाका लागि  अवसर भएको बताउनुभयो। युवा अभियन्ता एवं नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरले युवा परिवर्तनको संवाहक भएकाले निर्णायक तहमा प्रतिनिधित्व हुनुपर्ने धारणा राख्नुभयो। 

उहाँले राजतन्त्रविरुद्ध सुरुमा गगन थापाको अगुवाइमा युवा समूह बोलेको र पछि राजनीतिक संघर्षमा आउन बाध्य भएको स्मरण समेत गर्नुभयो।