• २१ असार २०८१, शुक्रबार

प्लटिङका कारण अन्नबाली उत्पादनमा कमी आयो : अध्यक्ष ओली

blog

तस्विरः गणेश बस्नेतको फेसबुक पेजबाट ।

गोरखापत्र अनलाइन

भक्तपुर, असार १५ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक ढङ्गले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थालेको बताउनुभएको छ । अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो । 

नेपाल धान बालिकालागि उपयुक्त स्थान रहेको भन्दै यसलाई दोब्बर गुणाले वृद्धि गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाल कृषिप्रधान देश भएपनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको भन्दै यसलाई बिस्थापित गरी नेपालमा उत्पादकत्व र उत्पादन बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । 


अध्यक्ष ओलीले सहकारीका माध्यमहरु अपनाएर र खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्ने बताउनुभयो । धानखेतीलाई नेपालमा बचाउन जरुरी रहेको भन्दै अहिले धेरै ठाउँमा अनावश्यक ढङ्गले अव्यवस्थित बस्ती, प्लटिङ सिस्टम र घडेरी बनाउनाले अन्नबाली उत्पादनमा कमी आइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धानबाली नेपालका लागि अत्यन्त उपयुक्त छ । यसलाई अझै केही गुणा वृद्धि गर्न सक्नुपर्छ । दोब्बरभन्दा बढी उत्पादन वृद्धि गर्नसक्छौँ । यसकानिम्ति उत्पादन र उत्पादकत्व बढाउन जरुरी छ । यसकालागि सहकारीका माध्यमहरु र अरु माध्यमबाट अब हामीले खण्डीकरणतर्फ होइन, चाक्लाबन्दी र ठूलो मात्रामा कुनैपनि चिजको उत्पादन गर्नेतिर लाग्नुपर्छ ।” 

त्यसो गरेमात्र नेपाल आत्मनिर्भर हुने र निर्यात पनि गर्न सक्ने उहाँले बताउनुभयो । धानबालीमा हामीले जोड दिन जरुरी छ । “अहिले धेरै ठाउँमा अनावश्यक ढङ्गले बस्ती कहाँ बसाउने, खेती कहाँ गर्ने ? ध्यान पुगेको छैन” अध्यक्ष ओलीले भन्नुभयो, “प्लटिङ सिस्टम आदिले धानखेती वा अन्न बाली लगाउने ठाउँ र घडेरी बनाउने ठाउँबारे गोलमाल भइरहेको छ । हामी बेठीक ढङ्गले चलिरहेका छौँ । यसलाई रोक्न जरुरी छ ।”

अध्यक्ष ओलीले कृषिप्रधान देशले खाद्यान्नहरु बढी मात्रामा आयात गर्नु अशोभनीय भएको बताउनुभयो । धान, मकै, गहुँजस्ता खाद्यवस्तु पनि बाहिरबाट आयात गर्नु दुःखदर भएको उहाँले बताउनुभयो । लापरवाही र असावधानीका कारण यी गल्तीहरु भइरहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।  


उहाँले भन्नुभयो, ‘आज धान, चामल नै असाधारण ढंगले बाहिरबाट आयात गर्नुपरेको छ । हामी कृषिप्रधान देश र सबैभन्दा बढी धान फल्ने देश अन्नबालीहरुमध्ये धान धेरै फल्ने गर्छ । यस्तो देशमा हामी अशोभनीय ढंगले आयात गरेर जीविका चलाइरहेका छौं ।’ 

“हामी कृषिप्रधान देशको खाद्यान्नको स्थिति आयातमा भर पर्नुपर्ने अवस्था छ । यो अत्यन्त दुःखद् कुरा हो” अध्यक्ष ओलीले थप्नुभयो, “यो स्थितिको हामी अन्त्य गर्न सक्छौँ । यो स्थिति वास्तवमा हाम्रो लापरवाही, असावधानी र प्रयासहरुको कमीका कारण भएको हो ।” अध्यक्ष ओलीले असावधानी र लापरवाहीलाई सच्याएर खाली जमिन राख्न नदिने हो भने कृषिलाई आधुनिकीकरणतर्फ बढाएर व्यावसायिकीकरण गर्दै उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो ।