• १८ चैत २०८२, बुधबार

सांगीतिक पीटीमा रमाउँछन् विद्यार्थी

blog

डेढगाउँस्थित बालकल्याण आधारभूत विद्यालयमा सांगीतिक पीटीमा सहभागी विद्यार्थीहरू। तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु, चैत १८ गते।
हरेक दिन बिहान १० बज्दा माइकबाट वार्मअप धुन बज्न थाल्छ, अनि विद्यार्थीहरू अनुशासित ढंगमा आफ्नो कक्षाकोठाबाट लाइनबद्ध हुँदै विद्यालयको मैदानमा आउँछन्।

प्रहरी र सैनिक पल्टन झल्काउने शैलीमा विद्यार्थीहरू कक्षा अनुसार पंक्तिबद्ध भएर लयबद्ध अभ्यास गर्छन्। पंक्तिका अगाडि–पछाडि शिक्षकहरू बस्छन्। करिब १५ मिनेटसम्म राष्ट्रिय भावना झल्काउने धुनमा देशभक्तिपूर्ण गीत बज्दै विद्यार्थीहरू फुर्तिका साथ सांगीतिक पीटी अभ्यास गर्छन्।

यो अभ्यास नवलपुरका दुई पालिकाका सामुदायिक विद्यालयहरूले नियमित अपनाउँदै आएका छन्। बौदीकाली र हुप्सेकोट गाउँपालिकाका विद्यालयमा हरेक दिन सांगीतिक पीटी हुने गरेको छ। विद्यार्थीहरूले एकैपटक सहभागी भई विभिन्न शारीरिक अभ्यास गर्ने दृश्य निकै रमाइलो देखिन्छ।

हुप्सेकोट र बौदीकाली गाउँपालिकाले ‘राइट फर चिल्ड्रेन’सँगको साझेदारीमा लागू गरिएको विद्यालय सिकाइ योजनाअन्तर्गत सबै सामुदायिक विद्यालयमा सांगीतिक पीटी सुरु गरिएको हो।

बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश आझाले बताए अनुसार, विद्यार्थीहरूको मनोभावना खुसी पार्दै कक्षाकोठामा पढाइ सुरु गर्ने र संस्कार सिकाउने उद्देश्यले सांगीतिक पीटी अभ्यास थालिएको हो। प्रारम्भमा कतिपय विद्यार्थी प्रार्थना सकिएपछि मात्र आउने र अभ्यासमा पूर्ण मन नदिने समस्या थियो।

बालकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक गंगाधर पोखरेलका अनुसार, अहिले विद्यार्थीहरू रमाइलो मानेर समयमै पीटीमा सहभागी हुने गरेका छन्।

इन्द्रेणी समावेशी बाल क्लबका अध्यक्ष विद्यार्थी दुर्गाबहादुर कुमालले बताए अनुसार, राष्ट्रप्रेम झल्काउने संगीतमा शारीरिक अभ्यास गर्दा विद्यार्थीहरू आनन्दित हुने र रमाइलो अनुभव गर्ने गरेका छन्।

सिकाइ परियोजना व्यवस्थापक सूर्य गैरेका अनुसार, हुप्सेकोट र बौदीकालीका ६५ वटा सामुदायिक विद्यालयमा सांगीतिक पीटी कार्यक्रम सञ्चालन हुँदै आएको छ। उहाँले भन्नुभयो, “डरत्रासमा राखेर मात्र अनुशासन सिकाउनु भन्दा मनोरञ्जनात्मक तरिकाले पीटी गराउँदा विद्यार्थीहरू खुसी हुन्छन्। संगीत सबैलाई मन पर्छ र यसले विद्यार्थीहरूको मनोसामाजिक विकासमा पनि सकारात्मक प्रभाव पार्छ।”