हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज ९ गते । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण गरिएको छ ।
मुस्ताङ तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्ला जिल्ला तथा चिनको तिब्बतबाट कोरला नाकाबाट बजार झरेका १४ हजार ६ सय ६८ भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणमा कुनै पनि भेडाच्याङ्ग्रा रोगी नभेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङका ६ सय ७५ भेडा (च्यालुक), ७ हजार २ सय १ च्याङ्ग्रा, डोल्पाबाट ५ हजार ९ सय, जुम्लाबाट ७ सय ७५, मुगुबाट ५ सय र तिब्वत हुँदै कोरला नाकाबाट भित्रिएका ५ सय ५० भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका क्रममा रोगी नभेटिएको केन्द्रका प्रमुख डा.लालमणि अर्यालले बताउनुभयो ।
ज्वरो, खोक्ने, र्याल, सिगान काढ्ने, झोक्राउने, रगत छेर्ने, सुख्खा कपाल लगायतका लक्षण भएका भेडाच्याङ्ग्रा नभेटिएको डा. अर्यालले बताउनुभयो। केन्द्र प्रमुख डा. अर्यालले भन्नुभयो, "बजारमा झरेका भेडाच्याङ्ग्रा स्वस्थ छन्, निर्धक्क सेवन गरे हुन्छ ।" भेडाच्याङ्ग्रा पालक कृषकलाई केन्द्र तथा स्थानीय तहबाट समेत नियमित पिपिआर रोगविरुद्धको खोप, खोरेत लगायतका अन्य भ्याक्सिन नियमित लगाउने गरिएको छ ।
भेडाच्याङ्ग्रा पालक कृषकले बिरामी भएकालाई खोरमै राखेर उपचार गर्ने गरेकाले बिक्रीयोग्य मात्रै बजारमा आएको केन्द्र प्रमुख डा.अर्यालले बताउनुभयो। डा. अर्याल भन्नुहुन्छ, "लामो बाटो ल्याउने क्रममा केही भेडाच्याङ्ग्राको खुट्टामा सामान्य चोटलाई उपचार गरी पठाएका छौ, कृषक सचेत भएकाले पनि उपभोक्तासम्म पुग्ने भेडाच्याङ्ग्राको मासु स्वस्थकर छ ।"
मुस्ताङबाट कालिगण्डकी कोरिडोर अन्तर्गत जोमसोम–बेनी सडक तथा केही ग्रामीण क्षेत्र हुँदै पर्वत, कास्की, काठमाडौंलगायत जिल्लामा बिक्रीका लागि लगिएको छ । प्रति गोटा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपियाँ शुल्क तिर्नुपर्छ। स्वास्थ्य परीक्षण गरेर निरोगीको सङ्केत तथ जानकारी सहितको पत्रका आधारमा मात्रै मुस्ताङबाट ७२ घण्टाभित्र जिल्ला बाहिर जानुपर्ने नियम छ ।
यसैबीच तिब्वतबाट भित्रिने भेडाच्याङ्ग्राको तुलनामा मुस्ताङको स्वादिलो हुने भएकाले यसपटक उपभोक्ताको रोजाइमा मुस्ताङकै परेको व्यापारी पशुपति सिवाकोटीले बताउनुभयो। व्यापारी सिवाकोटीले भन्नुभयो, "चिनियाँ च्याङ्ग्रा ठूलो भए पनि मासु नेपालीको जस्तो स्वादिलो हुँदैन,नेपाली च्याङ्ग्रा नै पारखीको रोजाइमा छ ।"
मुस्ताङबाट बाहिरिएका भेडाच्याङ्ग्रा बाटोमा बिरामी भएमा पोखरामा अस्वस्थकरको स्टिकर लगाउने गरिएको व्यापारीको भनाइ छ । बिरामी भेडाच्याङ्ग्राको सिङमा रातो रङको स्टिकर लगाइन्छ । समुन्द्री सतहदेखि २५ सय मिटरभन्दा माथिको उचाइमा कठोर हावापानीमा जडीबुटी खाएर करिब ३ देखि ५ वर्षसम्म हुर्किएका च्याङ्ग्रा महँगो भए पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । पशुका जानकारहरूका अनुसार हिमाली बाख्राको नामले समेत चिनिने च्याङ्ग्राको मासु प्रोटिनको उत्कृष्ट स्रोत हुन्छ । मुस्ताङबाट बाहिरिने अधिकांश भेडाच्याङ्ग्राको गण्डकी प्रदेशका जिल्लामा धेरै बिक्री तथा त्यसपछि काठमाडाैंमा खपत हुन्छ ।