• ८ असोज २०८२, बुधबार

खर्च कटौतीको विवरण तयार गर्न मुख्यमन्त्री शाहको निर्देशन

blog

बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरू । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी

धनगढी, असोज ८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । 

आज उहाँकै अध्यक्षतामा बसेको विषयत मन्त्रालयका मन्त्री र सचिव सम्मिलित बैठकमा मुख्यमन्त्रीले सचिवहरूलाई यस्तो निर्देशन दिनुभएको हो । जेनजी आन्दोलनपछि प्रदेश संरचना अन्तर्गतका भौतिक संरचनामा ठुलो क्षति भएको छ । त्यसको समीक्षा गर्दै मुख्यमन्त्रीले खर्च कटौतीको विवरण तयार पार्न निर्देशन दिनुभएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका मन्त्रालयलाई मितव्ययी बनाउन प्रदेश सरकारले खर्च कटौती गर्ने निर्णय यसअघि नै गरेको थियो । 

यसैगरी, मुख्यमन्त्री शाहले क्षति भएको भौतिक संरचना मर्मत गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न पनि निर्देशन दिनुभएको छ । जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा क्षति भएपछि अझै पनि कतिपय कार्यालयले सेवा सुचारु गर्न सकेका छैनन् । कतिपय कार्यालयहरूले मर्मत गरेर सेवा दिइरहेका जनाइएको छ ।