पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असोज ८ गते । मुलुकभरका उखु किसानले सरकारसँगको सम्झौताअनुसारको अनुदान रकम दसैँअघि नै पाउनुपर्ने माग गरेका छन् । सरकारले यसअघि नै रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले उक्त रकम नपाएपछि उनीहरू चिन्तित बनेका हुन् ।
देशभरका किसानले आर्थिक वर्ष २०८१/८२ को अनुदान रकम एक अर्ब ६० करोड रुपियाँ अनुदान भुक्तानी पाउन बाँकी छ । उखु उत्पादक महासङ्घका प्रवक्ता एवम् पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले विज्ञप्ति जारी गर्दै दसैँ अगाडि रकम नपाएमा दसैँलगत्तै सडक सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् । यसअघि भदौ ८ देखि १३ गतेसम्मको आन्दोलनपछि सरकारले तत्कालै अनुदान रकम दिने आश्वासन दिएको थियो ।
गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५५ रुपियाँ तोकिएको थियो, जसमा उद्योगीले ५ सय ८५ रुपियाँ र सरकारले ७० रुपियाँ अनुदान दिने भनिएको थियो । तर, चालु आर्थिक वर्षको बजेटमा सरकारले अनुदान रकम नै उल्लेख नगरेपछि किसान आन्दोलित भएका छन् ।
किसानहरूले तत्काल अनुदान रकम सुनिश्चित नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए पनि सरकारले यस विषयमा कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । नेपालमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको अनुमान छ । नेपालमा वार्षिक करिब दुई करोड १५ लाख क्विन्टल उखु उत्पादन हुने गरेको अनुमान छ ।