गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ८ गते । सरकारले काम सुस्त हुँदै आएका दुई राष्ट्रिय गौरवका आयोजनामा ठेकेदारसँग सम्झौता तोड्ने तयारी थालेको छ । सुनकोशी–मरिण र भेरी–बबई बहुउद्देश्यीय आयोजनामा ठेकेदारले ठिलाइ गरेका कारण ठेक्का यथास्थितिमा राख्न नसकिने जनाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ती दुवै आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताउनुभएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छलफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
दुवै आयोजनाको निर्माणमा देखिएको अस्वाभाविक ढिलाइ भएपछि मन्त्री घिसिङले निर्माणमा संलग्न सबै पक्षसँग छलफल गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । तराई क्षेत्रमा सिँचाइ पु¥याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउने आयोजनाको निर्माणमा भइरहेको अस्वाभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उल्लेख गर्दै उहाँले सम्बन्धित सबै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभयो ।
“एक पक्षले अर्को पक्षलाई दोष देखाएर बसेको देखिन्छ, निर्माण व्यवसायी छिद्र खोज्दै बस्ने आयोजना त्यस्तो वातावरण दिइराख्ने यस्तो अवस्थामा निर्माण कसरी अगाडि बढ्छ ? राज्यको अर्बौं रुपियाँ लगानी भइसकेको छ, ब्याजको मात्र हिसाब गर्ने हो भने अर्बौं हुन्छ, यस्तो अवस्थामा आयोजना सुरु गर्दा गरिएको वित्तीय विश्लेषण कहाँ पुग्यो, प्रतिफलको अवस्था के भयो ?” उहाँले प्रश्न गर्नुभयो ।
दुवै आयोजनाका सुरुङ निर्माण सम्पन्न भइसकेको भए पनि बाँध, विद्युत्गृहलगायतका संरचना बनाउन नसक्दा आयोजना अलपत्र परेका छन् । तराई मधेशमा सिँचाइका लागि पानीको हाहाकार भएकोमा अहिलकै स्थितिमा आयोजना चल्न नसक्ने मन्त्री घिसिङको भनाइ थियो ।
उहाँले भन्नुभयो, “निर्माण व्यवसायी सक्रिय भएको भए काम सकिन्थ्यो, काम गर्ने नियतमा देखिँदैन तसर्थ म्याद थप गर्नुको औचित्य छैन, सबै ठेक्का तोडी अगाडि बढौँ ।”
भेरी–बबईको सुरुङ २०७७ भदौमा निर्माण सम्पन्न भएको थियो । बाँध तथा विद्युत्गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान–रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाको भौतिक प्रगति ५७ प्रतिशत छ । सुनकोशी–मरिण बाँध, विद्युत्गृहलगायतका संरचना निर्माणको प्रगति १० प्रतिशत रहेको छ । ठेक्का समयावधि करिब ६० प्रतिशत बितिसकेको छ । यस आयोजनाको निर्माण व्यवसायी पटेल–रमण जेभी हो ।