• ८ असोज २०८२, बुधबार

निर्वाचन सफल बनाउने अभिभारा

blog

राजनीति नयाँ मोडमा पुगेको छ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलनले यस्तो अवस्था उत्पन्न भएको हो । यति चाँडै यो अवस्था आउला भनेर धेरैले सोचेका थिएनन् । सत्तामा रहेका दुई ठुला दलले समेत यस्तो परिस्थितिको कल्पनासम्म गरेका थिएनन् । यद्यपि राजनीतिक विश्लेषक, स्तम्भकार र बुद्धिजीवीले धेरै पहिलेदेखि यस विषयमा लेख्दै र भन्दै आएका थिए तर सत्ताधारीले त्यसलाई खासै चासो दिएनन् । 

मुलुकमा व्यापक भ्रष्टाचार र पक्षपात भएकाले नेपाली जनता निराश भइसकेका थिए । यही कारणले दैनिक हजारौँ युवा बिदेसिन बाध्य थिए । देशमा बसेर केही गर्ने अवस्था नभएपछि बिदेसिनुको विकल्प थिएन । झन् केपी शर्मा ओली नेतृत्वको सरकारले भदौ १९ गते फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने हठपूर्ण निर्णय गरेपछि त्यसैलाई जीवन पद्धति बनाएका जेनजी उमेरका युवा जमातलाई असह्य हुनु स्वाभाविक थियो, आखिर त्यही भयो । त्यो जमात देशव्यापी रूपमै विरोधमा उत्रियो । सरकारले दमन गर्ने क्रममा गोली चलाउँदा पहिलो दिन १९ जना कलिला विद्यार्थी मृत्युवरण गर्न बाध्य भए । यो दुःखद घटनाको भोलिपल्ट हत्याको विरोधमा सर्वसाधारणसमेत सडकमा निस्किए । यही क्रममा स्वार्थी मानिसको समूह घुसपैठका रूपमा प्रवेश ग¥यो । त्यो समूहले नेताहरूको निवास, व्यापारिक भवन, सञ्चारगृह, निजी र सरकारी कार्यालयसमेत तोडफोड र आगजनी ग¥यो । 

सोही दिन मध्याह्न प्रधानमन्त्री ओलीले राजीनामा दिनुभयो । सुरक्षाकर्मीले भिडलाई थेग्न नसकेपछि हिंसाका घटना बढी भए । राष्ट्रकै धरोहर मानिने सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनमा समेत आगो लगाइयो । यो जनधनको अपुरणीय क्षतिको मुख्य कारण भ्रष्टाचार र बेथिति नै हो । २०४६ सालयता सत्तामा बस्नेले गरेको भ्रष्टाचारकै कारण यस्तो परिस्थिति उत्पन्न भएको हो । धेरै व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परे पनि आन्दोलनले छोटो समयमै सत्तालाई झड्का दिएकाले जेनजी समूह धन्यवादको पात्र बनेको छ । 

नेपाली सेनाले सुरक्षाको जिम्मा लिएपछि आन्दोलन रोकियो । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तीन दिनदेखि अशान्त रहेको देश पुनः यथास्थितिमा फर्कियो । आन्दोलनका क्रममा भएको क्षति करिब दुई खर्बभन्दा बढी भएको अनुमान गरिएको छ । दुई दिनमा भएको जनधनको क्षतिको तत्कालै न्यायिक आयोग गठन गरी निष्पक्ष छानबिन गरेर दोषीलाई कानुनबमोजिम सजाय दिन जरुरी छ । 

अबको बाटो 

अन्तरिम चुनावी सरकार बनेको छ । यो सरकारको मूल काम भनेको निर्धारित समयमा निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो । यसै वर्षको फागुन २१ गतेका लागि निर्वाचन तोकिएको छ । यो काम फत्ते गर्न भने सहज देखिँदैन । एकतिर सुशासन कायम गर्नु छ भने अर्कोतिर सबै राजनीतिक दल र नागरिक समाजसमेतलाई मिलाएर सँगसँगै लैजानु छ । अर्कोतर्फ आन्दोलनकारीको मागलाई हरहालतमा पूरा गर्नैपर्ने बाध्यकारी अवस्था छ । यो नेपाली जनताको चाहना र आवश्यकता पनि हो । यति मात्र नभएर आर्थिक सङ्कटमा परिसकेको नेपालमा यो सङ्कट पार लगाउनुपर्ने चुनौती पनि चानेचुने छैन । 

अन्तरिम सरकारले गर्नैपर्ने काम 

यो सरकारका चुनौती भनेको भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नु नै हो । यो काम गर्न पटक्कै सजिलो छैन । अहिलेसम्मको अनुभवले यही भन्छ । अपवादबाहेक सबैको मनमा लोभ र पाप भरिएको छ । यो यथार्थ यही आन्दोलनका दृश्यले पनि उजागर गरिसकेकै छ । भ्रष्टाचार निर्मूल हुने सम्भावना कमै छ । नेपालमा भ्रष्टाचार नियन्त्रण हुन सबैको मनको लोभ र पाप हट्न जरुरी हुन्छ । बसेको बानी बाध्यताले हट्न गाह्रो छ । यही भएर यो समस्या दिनानुदिन विकराल बन्दै गएकाले आन्दोलन बाध्यकारी रूपमा आएको हो । यसो भनेर यो सरकारलाई सुख छैन । जसरी पनि भ्रष्टाचार नियन्त्रण गर्नु नै छ । यसका लागि सबैभन्दा पहिले भ्रष्टाचारमा मुछिएका जोकोहीलाई निष्पक्ष छानबिन गरी निर्भिक भएर कारबाही अगाडि बढाउन यो सरकारलाई कोही कसैले रोक्दैन, यो कामको थालनी आजैबाट सुरु गरौँ ।  

संविधान संशोधनका कुरा 

संविधान संशोधन जटिल विषय हो । यद्यपि जेनजीले भने अनुसार कार्यकारी प्रधानमन्त्री निर्वाचनको माग पनि जोडिन आएको छ । यो माग अन्तरिम सरकारले पूरा गर्न सम्भव हुँदैन । संविधान संशोधन गर्ने यसको कार्यक्षेत्र पनि होइन, यसलाई यो म्यान्डेट छैन पनि । जुन राष्ट्रपतिले भनिसक्नुभएको छ । यो कुरा सरकारले त सजिलै बुझ्ने छ । यो कुरा जेनजीले पनि बुझ्नु जरुरी छ । संविधान संशोधन गर्न संसद्को दुई तिहाइ बहुमत चाहिन्छ । संसद् अहिले विघटन गरिएको छ । यो हाम्रो ऐतिहासिक दस्ताबेज र गणतन्त्रका लागि नभई नहुने भएकाले संविधान बनाउने बाटोतिर लागौँ । सरकारलाई बल लगाउनुभन्दा जरुरी छ आममतदातामा चेतना जगाउन । तपाईंहरू घर घरमा हुनुहुन्छ । जनतामा चेतना ल्याउन सके सजिलै चुनाव जित्न सकिन्छ । पुराना पिँढीले अवसर गुमाइसके । तपाईंहरूले जित्नुभएको छ । अहिलेलाई कार्यकारी प्रधानमन्त्रीबाहेक भ्रष्टाचार नियन्त्रण र सुशासनसमेतका माग पूरा गर्न सम्भव हुन सक्छ । कार्यकारी प्रधानमन्त्रीको माग निर्धारित निर्वाचन सफल पारेर पूरा गर्ने बाटो बनाऔँ ।  

संसद् विघटनको विषय 

मौजुदा संविधानको धारा ७६ को आधारमा बनेको सरकार होइन, आन्दोलनको बलमा बनेको हो । विगतमा पनि सहमतिका आधारमा संसद् बिउँतिएर ८३ जना जङ्गलबाटै सांसद भएर आएको उदाहरण हाम्रैसामु छ । पहिलेका प्रधानमन्त्रीले जस्तो स्वार्थले होइन । यो बाध्यकारी अवस्थामा भएको थियो । यो यथार्थ सबैले बुझेकैले बुझनपचाई सबैले सहमति गरेर निष्पक्ष रूपमा निर्वाचन गराएर नयाँ जनादेश लिनु पर्छ । त्यसपछि सुख नेपाली र समुन्नत नेपाल बनाउने बाटोमा अघि बढौँ । फेरि पनि यसैमा हामी सबैको हित र कल्याण हुने छ । 

दलहरूको बुझाइ

दलहरूको भनाइ र गराइ अझै चित्त बुझेको छैन । अझ विग्रह निम्तन सक्छ । निश्चित रूपमा यो अनिष्टकारी हुने छ । कृपया दलहरूका पहिलो पङ्क्तिका नेता अभिभावक बनौँ । दोस्रो पङ्क्तिका नेता दललाई पुनर्संरचना गर्न सफल साबित हुनु पर्छ । हरेक दलमा तेस्रो पङ्क्तिका नेतालाई बहुमतमा राखेर स्वच्छ र इमानदार नेतालाई नेतृत्वको अवसर दिऔँ । यो नै अहिलेको आवश्यकता र निकास पनि हो । 

निष्कर्ष 

राष्ट्रिय सङ्कटको घडीमा राष्ट्र र राष्ट्रियताका लागि हामी सबै एक हुनुको विकल्प छँदै छैन । हिजोसम्म शासन गरेका ठुला दलका पाका नेता वा आज आन्दोलनमा उभिएका जेनजी युवा, हामी सबैलाई नेपाल र नेपालीको माया छ र हुनु पनि पर्छ । यही भएर जेनजी ज्यानै अर्पेर सहिद भएका हुन् । अहिलेको यो सङ्कटको बेलामा दम्भ कसैले नगरौँ । पुराना दलका शीर्ष नेताले अझै शासन गर्छौं भन्ने दम्भ त्यागौँ । 

जेनजीले सिधै कार्यकारी प्रधानमन्त्रीको चुनावको जिद्दी छोडौँ । यो चुनावी अन्तरिम सरकारले भ्रष्टाचारीलाई खोरमा हालेर भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएकालाई कानुनी कारबाही गरेर नेपालमा सुशासन दिनसके बाँकी काम निर्वाचित सरकारले गर्ने आधार बन्छ । अनि आउने सरकारले बाँकी काम सजिलै फत्ते गर्ने छ । 

इतिहासले देखाएको छ जित्नेकै सरकार बन्छ । तपाईंले जितिसक्नुभएको छ । इमानदार र योग्य व्यक्तिलाई उम्मेदवार बनाउनुहोस् । अपवादबाहेक जित तपाईंहरूकै हो । पुराना अस्ताउँदा घाम हुन्, तपाईंहरू उदाउँदा घाम । नेपालीले उदाउँदा घामलाई नै साथ दिने पक्का छ ।

संयमित भएर निर्वाचनमा सहभागी होऔँ र हुने वातावरण पनि बनाऔँ । सबै एक भएर फागुनको निर्धारित निर्वाचन सफल पारौँ । यो काम नभएमा झन् अनिष्ट हुन सक्छ । यो काम भयो भने महत्वपूर्ण र ऐतिहासिक काम हुने छ । अबको हाम्रो बाटो पनि यही हो ।