भवानीदत्त भट्ट
कञ्चनपुर, असोज ७ गते । जेनजी आन्दोलनका क्रममा घुसपैठ हुँदा कञ्चनपुरको एउटै वडामा ५५ लाखभन्दा बढीको क्षति भएको छ । १२ वडा रहेका यहाँको शुक्लाफाँटा नगरपालिका पारिफाँटास्थित वडा ८ कार्यालयमा अत्यधिक क्षति पुगेको हो ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा घुसपैठ हुँदा भएको तोडफोड र आगजनीबाट वडा नम्बर ८ कार्यालय जलेर ध्वस्त बनेको वडा सचिव गोकर्ण प्रसाद जोशीले बताउनुभयो । सोमबार नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको क्षतिको विवरण अनुसार, यहाँको वडा नम्बर ८ कार्यालयले अत्यधिक क्षति बेहोर्नुपरेको उल्लेख छ । आगजनी र तोडफोडबाट वडा ८ मा झण्डै ५५ लाख ९० हजार बराबरको क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनुभयो ।
उहाँका अनुसार, एक लाख ५० हजार बराबरका पाँच सी.सी टिभी क्यामेरा, पाँच लाख ६३ हजार बराबरको टेबल, कुर्सी, दराज, ढोका जलेर नष्ट भएका छन् । यसैगरी, सात लाख ९८ हजार बराबरको कुलर, फ्रिज, ब्याट्री, कम्प्युटर, टेबल, दराज, जलेर नष्ट भएको मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ । आगजनी र तोडफोडबाट वडा कार्यालय सञ्चालनमा आउन सकेको छैन । वडा सचिव जोशीले सोमबारदेखि नगरपालिकाबाट सबै सेवा सुरु गरिने बताउनुभयो ।
यसैगरी वडा नम्बर ८ पछि यहाँको वडा नम्बर १ कार्यालयमा ४६ लाख बराबरको क्षति पुगेको छ । आगलागीबाट वडा नम्बर १ को भवन भित्र ३५ लाख बराबरको क्षति पुगेको छ । यसैगरी ९७ हजार मूल्य बराबरका शोभा सेट जलेर नष्ट भएका छन् भने एक लाख ५० हजार बराबरका ल्याब सामग्री जलेर नष्ट भएका छन् । जहाँ २७ हजार बराबर सिटा टुटेका छन् भने ७० हजार बराबरका प्लास्टिक कुर्सी जलेर नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो ।
यसैगरी वडा नम्बर २ मा २२ लाख ६९ हजार रुपियाँ बराबरको क्षति पुगेको छ भने वडा नम्बर ३ मा २४ लाख ५० हजार रुपियाँ बराबरको क्षति पुगेको नगर प्रवक्ता लालबहादुर ऐरले बताउनुभयो । यहाँको वडा नम्बर ४ मा १४ लाख ६७ हजार, वडा नम्बर ५ मा २२ लाख ९० हजार र वडा नम्बर ६ मा १८ लाख ३८ हजार रुपियाँ बराबरको क्षति पुगेको नगरपालिकाले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख छ ।
यसैगरी वडा नम्बर ७ मा ४४ लाखभन्दा बढीको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, यस वडामा पानीको बोतलमा मात्रै ३२ हजार पाँच सय रुपियाँ क्षति भएको छ ।
नगरपालिकाका अनुसार, वडा नम्बर ९ मा पनि १५ लाख २१ हजार बराबरको क्षति पुगेको छ भने, वडा नम्बर १० मा ४३ लाख ७४ हजार बराबरको क्षति पुगेको छ । यस वडामा अत्यधिक क्षति गमला बिरुवामा पुगेको छ । ५७ हजार ७५० रुपियाँ जहाँ गमला बिरुवामा क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । यसैगरी वडा नम्बर ११ ले १३ लाख ८० हजार रुपियाँ र वडा नम्बर १२ ले १६ लाख रुपियाँ बराबरको क्षति बेहोर्नुपरेको नगरपालिकाले जनाएको छ ।
यसैगरी नगरपालिका कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट २३ लाख बराबरको क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा सिसाका झ्याल ढोका र ट्वाइलेटमा टुटफुट हुँदा २३ लाख ५ हजार बराबरको क्षति पुगेको छ ।