• ४ असोज २०८२, शनिबार

पाथीभरा रेस्क्यू हाउसमा आगजनी, साढे एक करोड बढीको क्षति

blog

आगजनीबाट क्षति भएको पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउसको भवन ।

साहारा लिम्बू

फुङलिङ, असोज ४ गते । जेनजी आन्दोलनको क्रममा ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा निर्माण गरिएको रेस्क्यू हाउस (आपतकालीन उपचार कक्ष) तथा टि हाउस (चिया घर) भवनमा आगजनी हुँदा साढे एक करोड बढीको क्षति भएको छ । पाथीभरा धाम प्रवेशद्वार नजिक रहेको रेस्क्यू हाउस र टि हाउसमा आगजनी हुँदा एक करोड ५५ लाख १८ हजार रुपियाँ बराबरको क्षति भएको हो ।

गत भदौ २३ र २४ गते देशभरी भएको जेनजी आन्दोलनको क्रममा केही अराजक समूहले गत भदौ २६ गते राति उक्त रेस्क्यू हाउस र टि हाउसमा आगजनी गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजित हाङबाङले बताउनुभयो । उहाँका अनुसार त्यहाँ रहेको एक करोड रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित भवन जलेर नष्ट भएको छ ।

यस्तै, ५० लाख रुपियाँ बराबरको एसवाई प्यानलबाट निर्मित रेस्क्यू हाउस, एक लाख २० हजार रुपियाँको जेनेरेटर, एक लाख ३५ हजार रुपियाँको ब्लाङकेट (कम्बल), १६ हजार रुपियाँको बेड म्याट, १ लाख ५० हजार रुपियाँको काठबाट निर्मित खाट, २५ हजार रुपियाँको टि टेबल, ४२ हजार रुपियाँको प्लास्टिक कुर्सी र ३० हजार रुपियाँको भाडा कुँडा साथै कुकर जलेर नष्ट भएको निर्देशक हाङबाङको भनाइ छ ।

कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७८–७९ को योजना मार्फत उक्त संरचना निर्माण गरिएको थियो । उक्त टि हाउसमा आगो लगाई ध्वस्त बनाइएको र रेस्क्यू हाउसमा सिलिन्डर विस्फोट गराई क्षति गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरू सञ्चालनमा ल्याउन सुरु नभई आगजनी भएको हो । आगजनी घटनाबारे अनुसन्धानमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।