ज्ञानु पंगेनी
मध्यविन्दु, असोज ४ गते । गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन–त्रिवेणी खण्ड सरसफाइमा स्थानीय जुटेका छन् ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार समेतको सहभागिता र स्थानीयको सक्रियतामा शनिबार विनयी त्रिवेणी गाउँपालिका एक बुगुवनक्षेत्रबाट सरसफाइ अभियान सुरुवात गरिएको हो । घरेलु औजार हसिया कुटो कोदालो बोकेर स्थानीयले यस सडक खण्डमा भएका झाडी सरसफाइ गरेका छन् ।
दुम्किवास युथको संयोजकत्वमा बगुवन, सिसेनी, ज्यामिरे, दुम्किवास र त्रिवेणी लगायतका गाउँटोलका चार सय बढीको सहभागितामा सरसफाइ कार्यलाई अगाडि बढाइएको दुम्किवास युथका सुनिल खनालले जानकारी दिनुभयो । पालिकाको दुई वटा वडा ६ र ७ तथा प्रदेशकै गौरवको योजना कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन–त्रिवेणी खण्डको जङ्गल क्षेत्रमा पर्ने करिब १० किलोमिटर सडकको झाडीलाई व्यवस्थापन गरी छिटोभन्दा छिटो सञ्चालन गर्ने उद्देश्यले यस सरसफाइ अभियान अगाडि बढाएको खनालले बताउनुभयो ।
विषेशतः त्रिवेणीका ६ र ७ नम्बर वडा त्रिवेणीका बासिन्दालाई आफ्नै पालिका दुम्किवास आउन धेरै दुःख छ । छोटो बाटो सञ्चालनमा नआउँदा सुस्ता हुँदै बर्दघाटबाट दाउन्नेको बाटो भएर आउँदा करिब ४५ किलोमिटर घुमेर आउनुपर्छ दाउन्नेको बाटाका कारण घण्टौँ लाग्ने गरेको छ ।
त्रिवेणीवासीले भोग्नु परेको यस दुःखमा होस्टेमा हैसे गर्न पनि हामी यो बाटो सरसफाइमा जुटेका हौँ, खनालले भन्नुभयो ।
दुम्किवास युथका दीपक सुवेदीले स्थानीय जनता जागेर सुरु गरेको यस अभियानमा सबै तहतप्का र सरोकारवाला समेतको सहयोग रहेको बताउनुभयो । पालिका तथा वडाहरू समेतको सहकार्य र समन्वयमा विषेशगरी स्थानीयको विषेश पहलमा मध्यवर्ती क्षेत्र पर्ने जङ्गल क्षेत्रमा जनसमुदाय आफैँ एकजुट भई सरसफाइ गर्ने कार्य भएको उहाँले बताउनुभयो ।
त्रिवेणी क्षेत्रका बासिन्दाले त्रिवेणी क्षेत्रबाट करिब ३ किलोमिटर अधेरी खोलासम्मको क्षेत्र सरसफाइ गरिसकेको र दुम्किवास क्षेत्रका स्थानीयले बाँकी रहेको क्षेत्रमा सरसफाइ गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बैदवारको अध्यक्षतामा दुम्किवासमा बिहीबार बसेको भेलाले घरेलु औजारहरू हसिया, कुटो कोदालोको प्रयोग गरी, जङ्गली जनवारलाई कुनै पनि हानी नोक्सानी नपुग्नेगरी गजेन्द्र मोक्ष धामसम्म बाटो सरसफाइ गर्ने निर्णय गरिएको थियो ।
सडक खण्डका विभिन्न खोलामा कल्भर्ट निर्माण गरी ग्राभेल समेत भरेर यातायात सञ्चालन भएको भए पनि २०६४ मा चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको थियो । दुम्किवासको ज्यमिरेबाट १८ किलोमिटर दूरीमा त्रिवेणी पुग्न सकिन्छ । अहिले दुम्किवासबाट करिब ४५ किलोमिटरको दूरी पार गरेर त्रिवेणी पुग्नुपर्छ ।