• ८ असोज २०८२, बुधबार

आञ्चलिकता बोकेको नियात्राकृति

blog

वर्तमान नेपाली साहित्यमा नियात्रा कृतिहरूको लेखन र प्रकाशन उल्लेख्य रहेको छ । स्वदेशका रमणीय क्षेत्रको भ्रमण होस् या विदेशका पर्यटकीय स्थानको यात्रा; त्यो सम्पन्न गरिसकेपछि कलम चलेका लेखकहरू आफ्ना संस्मरणात्मक अनुभूतिहरू पर्गेल्न नियात्रा लेखनलाई नै प्राथमिकतामा राखेर अचेल पुस्तक प्रकाशन गरिरहेका छन् । 

यात्रा अनुभवले भरिपूर्ण सम्प्रेषणीय रोचक 

पाठ्यसामग्रीका रूपमा नियात्रालाई पाएर पाठकहरू पनि निकै लाभान्वित भएको स्थिति छ । यसै सिलसिलामा ‘रापती किनारको रात’ (२०६५) र ‘साइत जुरेको डाँफे’ (२०६८) प्रकाशन गर्नुभएका नियात्राकार हेमराज पाण्डेको तेस्रो नियात्रासङ्ग्रहका रूपमा ‘गान्तोक हाँसेको बिहानी’ २०८१ को अन्त्यतिर पाठकसामु आएको छ ।

अघिल्ला नियात्रामा स्वदेशको भ्रमणलाई लिपिबद्ध गरेर पाठकसँग चिनिएका कृतिकार पाण्डे यस पटक २७ वटा शीर्षकमा विभिन्न स्थानका भ्रमण अनुभूति लिएर उपस्थित हुनुभएको छ । आफ्नो यात्राका प्रसङ्गलाई सकेसम्म समेटेर फरक परिवेशका अनुभूतिका आयामलाई विस्तृति दिई प्रस्तुत हुने नियात्राकार पाण्डेको बानी यस कृतिमा पनि निकै उदार देखिएको छ । 

नियात्राकारले मूलतः आफू कार्यरत संस्था कर्मचारी सञ्चय कोषबाट खटिएर सभा, सम्मेलन, सेमिनार या कार्यशाला गोष्ठीहरूमा सहभागी हुने सिलसिलामा भारत, चीन, कोरिया, थाइल्यान्ड, मलेसिया, सिङ्गापुरलगायत देशका विभिन्न स्थानमा यात्रा गर्दा सामना गर्नु परेको परिस्थिति र परिवेशबाट प्राप्त अनुभव र अनुभूतिमार्फत गहिराइमा पुगेर वस्तुतथ्यको उद्‍घाटन गरेका छन् । कहीँ हसाउँदै, कहीँ गम्भीर बनाउँदै, कहीँ आश्चर्यचकित गराउँदै र कहीँ विदेश घुम्दाघुम्दै पनि स्वदेश सम्झाउँदै आफ्नो लेखनीलाई गति दिन सिपालु यस पुस्तकका नियात्राकारले रोचक सामग्रीसाथ यात्रा गरेका ठाउँमा पाठकलाई सँगसँगै हिँडाएको पाइन्छ ।

‘अस्तित्वबोध’ कवितासङ्ग्र्रह (२०५२) मार्फत आफूलाई कविका रूपमा समेत स्थापित गराउनुभएका स्रष्टाको शैली ठाउँ ठाउँमा कवितात्मक बनेर बगेको छ । जन्मस्थान र जन्मधर्तीप्रतिको अगाध माया उहाँका हरेक रचनामा छचल्किइरहेको हामी पाउँछौँ । गहिरो चिन्तनशीलता, विषयवस्तुको गाम्भीर्य, बौद्धिक विश्लेषण, शीर्षक चयनमा प्रतीकात्मकता, प्रस्तुतिमा नयाँपन, घुमेका स्थानहरूको यथातथ्य वर्णन र भाषिक प्रयोगमा आञ्चलिकताको महक यस नियात्रासङ्ग्र्रहका विशेषता देखिन्छन् । 

प्रस्तुत कृति विशेष गरेर लुम्बिनी प्रदेशतिर बोलिने मौलिक स्थानीय नेपाली शब्दहरूको भरपूर प्रयोग गरेर लेखिएको छ, जहाँ पाठकहरूले फरक अनुभूति र आस्वादनको मिठास पाउन सक्छन् । नेपाली यात्रा साहित्यको भण्डारमा नयाँ आयाम लिएर फरक स्वादसाथ थपिन आएको यस पुस्तकले गम्भीर अध्येताहरूको ध्यान आकृष्ट गर्न सक्ने देखिन्छ । 

यात्रा अनुभूतिको गहिराइमा पुगी लेखकले आफूलाई नै उदाहरणका रूपमा निरीह पात्र बनाएर प्रस्तुत गरेका प्रसङ्ग र सान्दर्भिक विषयवस्तुमाथि प्रकट गरेको चिन्तनशीलता सर्वथा मननीय छन् । प्राध्यापक डा. भागवत ढकालको खँदिलो भूमिकाले पुस्तकलाई राम्ररी चिनाएको छ ।

घटीमा पाँच पृष्ठदेखि बढीमा १९ पृष्ठसम्मको आयतनमा सीमाबद्ध यस सङ्ग्र्रहका नियात्राले कतै कतै पाठकलाई धैर्यको परीक्षा दिनुपर्ने अवस्थामा पु¥याउन खोजे पनि भनाइको ताच्छिल्य र विषयवस्तुको रोचकताले पाठकलाई सजिलै तान्न सक्ने क्षमता राखेका छन् । केही वाक्यमा उही भावको पुनरुक्तिदोष र कतिपय शब्दमा व्याकरणगत कमजोरी रहेकाले हिज्जेमा सुधार गर्न सकिने त्रुटि देखिन्छन् । कृतिका अन्तिम आठ पृष्ठमा समाविष्ट सान्दर्भिक तस्बिरले पुस्तकलाई अझ रोचक तथा आकर्षक बनाएको अनुभूति हुन्छ ।