• १० मंसिर २०८१, सोमबार

बाढीले मोरङका नौ पालिका प्रभावित : अस्पतालको आकस्मिक कक्ष जलमग्न

blog

नवराज कट्टेल

विराटनगर, असार १४ गते। बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका-९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधीन पुल भत्किएको छ। बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो। स्थानीय यज्ञ कटवालका अनुसार दश वर्षदेखि निर्माणाधीन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन्। 

मङ्गलबार बिहानदेखि परिरहेको पानीका कारण मोरङका नौ स्थानीय तह प्रभावित बनेका छन्। विराटनगर महानगरपालिका-८ का २५ घरपरिवार विस्थापित भएका छन्। 

सम्भावित जोखिममा रहेका ९५ परिवारलाई त्रिपाल टाँगेर सुरक्षित स्थानमा सारिएको छ। 


यसैगरी घिनाघाट-विराटचौक सडक अन्तर्गत ग्रामथानको खुनियाकट्टामा  सडक अवरोध भएको छ। त्यहाँ डाइभर्सनमार्फत बाटो खुलाउने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभएको छ।

 कानेपोखरी-६ मा भलुवा खोलाको बाढी पसेर तेजबहादुर दर्जीको घरमा क्षति पुगेको छ। सुनवर्षी नगरपालिका-६ मा बक्राहा खोलाले बाँध कटान गर्न थालेपछि अहिले रोकथामको प्रयास भइरहेको छ। खोला बस्तीमा पस्ने जोखिम बढेपछि सुरक्षा निकाय परिचालन गरिएको छ। 

मोरङको बुढीगङ्गा गाउँपालिका-२ मा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक कक्षामा पानी पस्दा सेवा अवरुद्ध भएको छ। 

यसैगरी बुढीगङ्गा गाउँपालिका-२ को खाप टोलका २६ घरमा सिंघिया खोलाको बाढी पसेपछि ११५ जनालाई वडा कार्यालयको भवनमा स्थानान्तरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। 

कटहरी गाउँपालिका-१ टाइगरटोलमा सिंघियाको बाढी पस्दा ६० घरपरिवारका २५० जनालाई स्थानान्तरण गरिएको छ।