खलङ्गा समाचारदाता
जाजरकोट, असोज ४ गते । चाडपर्व नजिकिँदै गएका बेला जाजरकोटका जनताले सडक मर्मत गरी सवारीसाधन आवागमनमा सहजता ल्याउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । जाजरकोट सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–४, गैरीखाली, बाहुनथाना, राङ्सी, पाँचकाटिया, ढिमे, पैक, व्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने लुम्बिनी–रारा राजमार्ग अन्तर्गत सो सडक मर्मतका लागि उनीहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत ध्यानाकर्षण गराएका छन् ।
ट्र्याक खुलेको करिब १६ वर्षपछि स्तरोन्नतिको काम सुरु भए पनि सम्झौता अनुसार ठेकेदारले काम सम्पन्न नगरेपछि बर्खाको भलपानी, सडकमाथिबाट खसेको पहिरोले ठाउँ ठाउँमा अवरुद्ध गराउँदा ठप्प भएको सडक सुचारु गर्न स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
भेरी नगरपालिका–२ का अर्जुन वलीका अनुसार पहिरोले सडक तीन महिनादेखि अवरुद्ध भएपछि सरोकारवाला निकायले मर्मतमा बेवास्ता गरी यात्रुलाई आउजाउमा समस्या हुने गरेको छ । लामो समयदेखि सडकमा सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती पाइरहेका छन् । भेरी नगरपालिका, कुसे गाउँपालिका, बारेकोट गाउँपालिकाका सर्वसाधारण आउजाउ गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएपछि छिटो मर्मत गर्न जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो । लुम्बिनी–रारा राजमार्ग अन्तर्गत सो सडकको विभिन्न ठाउँमा पहिरो खसेर यातायातका साधन ठप्प भएपछि स्थानीयलाई आउजाउमा समस्या भएको छ ।
कुसे गाउँपालिका–८ का क्षेत्रप्रताप शाहीले दसँैतिहारमा सर्वसाधारण चाडपर्व मनाउन घर फर्किने समय आउन थालेपछि सरोकारवाराला निकायले छिटो मर्मत गरी सडक सुचारु गर्न आग्रह गर्नुभयो । यता कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बर्खाको पानीले अवरुद्ध गरेको सडक बर्खा रोकिएपछि तत्काल मर्मत गरी आवागमनलाई सहज बनाउने बताउनुभयो ।
चाडपर्वअघि नै सडक सञ्चालन गर्ने तयारी
सल्यान समाचारदाताका अनुसार आगामी चाडपर्वलाई लक्षित गर्दै सल्यानका ग्रामीण सडक सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । अविरल वर्षा र पहिरोका कारण ग्रामीण क्षेत्रका धेरै सडक अवरुद्ध भएका थिए । जसका कारण दशैंतिहार जस्ता ठुला पर्वमा गाउँ फर्कने, बजार जाने तथा विभिन्न सामाजिक–सांस्कृतिक गतिविधिमा सहभागी हुने जनताका लागि सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले स्थानीय तहले सडक मर्मत अभियान सुरु गर्ने भएका हुन् । जिल्लाका १० वटा स्थानीय तहले सडक सुधारलाई प्राथमिकतामा राख्दै चाडपर्वअघि नै सम्पूर्ण अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
कपुरकोट गाउँपालिका तरकारी उत्पादनका हिसाबले महìवपूर्ण पालिका हो । यहाँबाट बर्सेनि मौसमी र बेमौसमी तरकारी ५० करोडभन्दा बढीको निकासी हँुदै आएको छ । वडा कार्यालयसम्म सडक नियमित गरिएको छ । भित्री सडक मर्मत चाडपर्वअघि गरिने कपुरकोट गाउँपालिका सल्यानका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार वर्षायाममा सडक अवरुद्ध हुँदा गाउँ–बजार आवतजावतमा निकै समस्या आएको थियो । अब चाडपर्व नजिकिएकाले जनतालाई सहज आवागमन मिलाउन तत्काल सडक मर्मत गर्ने योजना छ ।
वनगाढ कुपिन्डे नगरपालिकाले १० वटा सडक मर्मत गर्ने र १२ वडाले आफ्नो क्षेत्रका भित्री सडक मर्मत गर्ने कार्यतालिका बनाएका छन् । नगरपालिकाले वडा कार्यालय पुग्ने सडक मर्मत गर्न सुरु गरिसकेको नगरप्रमुख कर्णबहादुर बुढाथोकीले बताउनुभयो ।