• ४ असोज २०८२, शनिबार

हिंसापीडितलाई निःशुल्क सेवा

blog

काठेखोला समाचारदाता 

बागलुङ, असोज ४ गते  । लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट गत आर्थिक वर्ष २०८१८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् । धवलागिरि प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको केन्द्रबाट एक वर्षमा ७३ महिला र १२ जना पुरुषले उपचार तथा परामर्श लिएका हुन् । 

केन्द्रकी फोकलपर्सन देवी भट्टराईले घरेलु हिंसा, यौनहिंसा र मानसिक समस्या भएकालाई केन्द्रमा राखेर उपचार गराउँदै आएको बताउनुभयो । उहाँले केन्द्रमा गत आवमा १९ जना बलात्कार, ३४ जना शारीरिक हिंसा, १५ जना मानसिक यातना, १० जना करणी उद्योग र सात जना घरेलु हिंसापीडितले सेवा लिएको बताउनुभयो । 

बागलुङमा १९ वर्षदेखि ५९ वर्षसम्मका महिला र पुरुष बढी मात्रामा पीडित रहेको पाइएको छ । केन्द्र प्रमुख भट्टराईले गत आवमा १९ वर्षदेखि ५९ वर्षसम्मका ५६ जना पीडितले सेवा लिएको बताउनुभयो । यस्तै १४ वर्षसम्मका आठ जना, १५ देखि १८ वर्ष उमेरका ११ जना, ५० देखि ६० वर्षसम्मका सात जना र ६० वर्षदेखि माथिका तीन जना पीडितको उपचार गरिएको छ । प्रमुख भट्टराईले भन्नुभयो, “केन्द्रमा धेरै जसो टिनएजर विद्यार्थी रहेका छन् । मानसिक रूपमा पीडित विद्यार्थीले आफ्नो पीडा अरूलाई व्यक्त गर्न नसक्नु र उनीहरूको मनोभावनाविपरीत अभिभावक र शिक्षकले पढ्न लगाउने गर्नाले टिनएजरको सङ्ख्यामा वृद्धि आएको हो ।” जातिगत रूपमा हेर्दा सबैभन्दा धेरै हिंसा दलित समुदायका महिलामाथि भएको छ । गत आवमा ४७ जना दलित, २१ गते जनजाति र १७ जना ब्राह्मण तथा क्षेत्री पीडित रहेको तथ्याङ्कमा छ । 

केन्द्रमा सेवा लिनेमा गत आवमा बाथदसङ नगरपालिकाका २३ जना, जैमिनी नगरपालिकाका पाँच जना, गलकोट नगरपालिकाका छ जना, ढोरपाटन नगरपालिकाका चार जना, काठेखोला गाउँपालिकाका १३ जना र बडीगाड गाउँपालिकाका छ जना पीडितले सेवा लिएका छन् । केन्द्रमा आउने पीडितलाई मनोसामाजिक विमर्शमार्फत शारीरिक र मानसिक उपचार गरिन्छ । एक सातासम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक विमर्श गराएपछि पुनस्र्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिनुभयो । 

धवलागिरि प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित ढुङ्गानाले अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसापीडित र प्रभावितका लागि निःशुल्क स्वास्थ्य उपचार र परामर्श सेवा प्रदान गर्दै आएको बताउनुभयो । उहाँले केन्द्रबाट निःशुल्क सेवा प्रदान हुन्छ भन्ने बारेमा आमनागरिकमा जानकारी नहुँदा धेरै पीडित सेवा प्राप्त गर्नबाट छुटिरहेको बताउनुभयो । केन्द्रले लैङ्गिक हिंसामा परेका पीडितलाई मनोपरामर्श दिनुका साथै निःशुल्क उपचार गर्ने गरेको छ । उनीहरूलाई उपचार गराउन आउँदा यातायात खर्च र जिल्लामा उपचार सम्भव नभएमा सिफारिस गर्ने गरिएको केन्द्रले जानकारी दियो ।