सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, असोज ४ गते । भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय भएको छ । जेनजी समूहले आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावरबिच सहमति भएको हो ।
४५ मेगावाट क्षमताको उक्त आयोजनाबाट स्थानीय प्रभावितलाई सेयर दिन माग राखेर जेनजी समूहले एक सातादेखि आयोजना बन्द गराएको थियो । आयोजनाले असोज २ गते जेनजी समूहलाई अलग राखी भोटेकोशी गाउँपालिका भवनमा सुटुक्क वार्ता गर्न थालेपछि जेनजी समूहले वार्तामा आफूहरूलाई संलग्न नगराइएको भनेर गाउँपालिकाको भवन नै तोडफोड गरेको थियो । प्रदर्शन उग्र बनेपछि भोटेकोशी पावर प्रालिका बबिन प्रधान, प्रेम साउद, जेनजीका तर्फबाट फुर्पा शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पा, वडा नं. ३ का अध्यक्ष निमा शेर्पाले वार्ता गरेर १० प्रतिशत सेयर निःशुल्क दिने सहमति गरी निर्णयपत्रमा हस्तक्षर गरेका छन् । जेनजी प्रतिनिधि फुर्पा शेर्पाका अनुसार भोटेकोशी इन्भेस्टमेन्ट प्रालिकै नाममा १० प्रतिशत सेयर कायम गर्ने र तत्काललाई ५२ जना जेनजी समूहबाट थप गरी सो कम्पनीको बोर्ड सदस्यसमेत हेरफेर गर्ने सहमति भएको छ । सहमति ४५ दिनभित्र कार्यान्वयन गरिने छ ।
सहमतिपछि सो हाइड्रोपावरले असोज २ गते बेलुकीदेखि नै प्लान्ट सञ्चालनमा ल्याएको छ ।
उक्त कम्पनीले २०५७ देखि विद्युत् उत्पादन थालेको थियो । उत्पादन थालेको २५ वर्ष हुँदासमेत हाइड्रोपावरले स्थानीय प्रभावितलाई सेयर दिएको थिएन । भोटेकोशी गाउँपालिका–२, दसकिलोमा बाँध र सोही पालिकाको झिर्पुमा पावरहाउसले सुरुमा ३६ मेगावाट र केही समयपछि नौ मेगावाट गरी ४५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । उक्त आयोजना केही समयपछि सरकारलाई हस्तान्तरण हुँदै छ ।