• ४ असोज २०८२, शनिबार

बालअधिकार र मनोसामाजिक प्रभाव

blog

भदौ २३ र २४ को दिन नेपालका लागि अनपेक्षित दिन रहन गयो । नेपालको सामाजिक र राजनीतिक परिवेश युवाको नेतृत्वमा आउनु र परिवर्तनका सङ्केत देखिनु सकारात्मक हो । दुर्भाग्यवश, अनाहकमा दर्जनौँ युवाले ज्यान गुमाएको यस आन्दोलनका यी नवजवानप्रति म नतमस्तक छु । जसको अगुवाइ जेनेरेसन जेड (वा जी–अमेरिकन बोली) समूहको आवरणमा गरिएको थियो, जो उमेरले बाल र नवयुवा दुई समूहका व्यक्ति पर्छन् । सन् १९९७ देखि २०१२ बिच जन्मेका उमेर समूह हुन् । आन्दोलनको प्रारम्भिक कारण सरकारद्वारा बन्द गरिएका करिब दुई दर्जनभन्दा बढी सामाजिक सञ्जालमाथिको प्रतिबन्ध भए पनि नेपालमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र सरकारको जवाफदेहितासम्बन्धी व्यापक असन्तुष्टिले निरास भएका सर्वसाधारणलाई परिवर्तन आवश्यक थियो ।

यस आन्दोलनले नेपाली युवाको शक्ति र असन्तुष्टिको प्रतिनिधित्व गरे पनि यसले नेपाली समाजभित्रको व्यक्तिवादी सोच र मनोसामाजिक कमजोरीप्रति धेरै प्रश्न उजागर गरेको छ । जसबाट बालयुवाको राजनीतिक कार्यव्रmममा सहभागितासँग सम्बन्धित नैतिक, कानुनी र भविष्यको मनोसामाजिक विकासबारे थुप्रै प्रश्न उठाएको छ । यस घटनाले राजनीतिक दल, सरकार, संयुक्त राष्ट्रसङ्घ, युनिसेफ, राज्य, परिवार, विद्यालय, बालबालिकासँग सम्बन्धित काम गर्ने निकाय तथा सामाजिक अभियन्ताको भूमिका र जिम्मेवारीमाथि गहन पुनर्विचार गर्नुपर्ने महसुस पनि गरेको छ । जसका केही पाटा यहाँ उजागर गर्ने प्रयास गरिएको छ । 

‘जेनजी’ का दुई भिन्न उमेर समूह र वयस्क अभियन्ता

जेनजी आन्दोलनको पर्दा बाहिरका समूहलाई हेर्ने हो भने मनोविज्ञानका आधार दुई भिन्न उमेर समूह प्रस्ट देखिन्छन् । यी दुई समूह फरक विशेषता बोकेका समूह हुन, जसको शारीरिक, मानसिक र मनोसामाजिक विकासको व्रmम धेरै नै फरक हुन्छ । आन्दोलनका व्रmममा तिनका फरक विषेशतालाई पर्दाभित्रका खेलाडीले सामाजिक सञ्जालबाट उक्साउनेबाहेक अरू काम गरेको देखिँदैन । कलिला बालबालिकाका अधिकार र कर्तव्य पहिचान नगरेर केवल शारीरिक रूपमा मिल्दोजुल्दोपनको फाइदा उठाई कुनै समूहबाट अपरिपक्व रूपमा आन्दोलनमा परिचालन गरिनु आफैँमा जटिल समस्या हो । जो भोलिका दिनमा पनि एक प्रमुख चिन्ताको विषय हुन सक्ने खतरा छ । 

क. १८ वर्षमुनिका बालबालिकाको उपस्थिति र बालअधिकार

यस आन्दोलनमा एउटा समूह १८ वर्षभन्दा कम उमेरका बालबालिका पनि देखिन्छन् जो विद्यालयकै पोसाकमा आएको पनि हेर्न सकिन्छ । १८ वर्षभन्दा कम उमेर समूहलाई राजनीतिक आन्दोलनमा सहभागिता गराउनु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालअधिकारको कानुनी मापदण्ड अन्तर्गत प्रत्यक्ष रूपमा चिन्ताजनक विषय हो । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिमा हस्ताक्षर गरी बालबालिकाले आफ्नो पाउने अधिकारबारे सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । त्यहाँ उनीहरूलाई शोषण र हानिकारक गतिविधिबाट जोगाउने जिम्मेवारीबारे न परिचालक नै सजक रहेको देखिन्छ न त राज्य पक्ष । नेपालकै बालबालिकासम्बन्धी ऐनले पनि बालबालिकालाई राजनीतिक व्रिmयाकलापमा संलग्न गर्न निषेध गरेको छ । यसका लागि बाबुआमा वा विद्यालयको अनुमतिबिना बालबालिकाको सहभागिता कानुनी रूपमा गलत हो, यो उनीहरूको पठनपाठन, शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने घातक कदम हो ।

ख. १८÷२७ वर्षका उदयमान वयस्क समूहको आकाङ्क्षा र असन्तोष

यस आन्दोलनमा दोस्रो समूहमा १८ देखि २७ वर्षका युवा पर्छन् । जसलाई विकासात्मक मनोविज्ञानीहरूले उदीयमान वयस्कताको चरण भनेर व्याख्या गरेको पाइन्छ । यो अवस्था भनेको पहिचानको खोजी, सामाजिक स्वीकृतिको इच्छा राख्ने, जीवनसाथीको रोजाइमा रहेको, आर्थिक व्ययभारको पीडामा रुमलिएको, शैक्षिक गन्तव्यबाट रोजगारीसम्मको बाटोमा देखिएका असफलताका पीडा, घरपरिवारले आफ्नै खुट्टामा उभिन दबाब दिने आदि धेरै कारणबाट पीडित उनीहरूमा भावनात्मक अस्थिरता आउने हुँदा समालिनुपर्ने उमेर हो । 

नेपालको सन्दर्भमा, यस समूहका धेरै युवा बेरोजगारी, शिक्षा र अवसरको अभाव र राजनीतिक अव्यवस्थाबाट पीडित रहेको देखिन्छ । यस्तो असन्तोषले उनीहरूलाई आन्दोलनतर्फ आकर्षित गरेको धेरै पहिलेदेखि नै हो । यसलाई सरकार र सामाजिक संरचनाले सही मार्गदर्शन दिन सकेको देखिँदैन । गलत शिक्षा नीतिले बनाएको कमजोर नैतिक धरालत र स्पष्ट युवा विकास नीति नहुँदा उनीहरूमा देखिएको निराशाको परिणाम नै यो आन्दोलन हो भन्दा फरक नपर्ला ।

ग. वयस्क अभियन्ताको भूमिका ः आगोमा घिउ थप्ने काम 

यस आन्दोलनमा वयस्क सामाजिक अभियन्ताको भूमिका गम्भीर रूपमा आलोचनाको केन्द्रमा रहेको छ । शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र अशान्तिमा परिणत गर्न फरक लक्ष्य बोकेको समूहको ठुलो हात देखिन्छ; जसलाई निष्पक्ष आयोगबाट पक्कै पत्ता लाग्ने छ । धेरै बालबालिकालाई विद्यालयको पोसाकमा आन्दोलनमा तानेर भावनात्मक समर्थन गर्न यो समूह तल्लीन हो कि भन्ने भान हुन्छ । जो भोलिका दिनमा गरिने अनुसन्धानले कानुनको दायरामा ल्याउने छ भने युनिसेफले यसको सत्यतथ्य बाहिर ल्याउनु पर्छ नै । अर्कोतर्फ आन्दोलनलाई नैतिक र राष्ट्रिय कर्तव्यको रूपमा प्रस्तुत गर्दै, वयस्क नेताहरूले बाल किशोर र युवा मानसिकता प्रयोग गरी आफ्ना एजेन्डा अघि बढाएका हुन् कि भन्ने पनि शङ्काको दायरा देखिन्छ । 

यस प्रकारको दुरुपयोगले केवल नैतिक सीमा मात्र तोडेको छैन, यसले बालमनोविज्ञान, कानुनी परिपालना, साथै भोलिका दिन तिनीहरूमा आउन सक्ने मानसिक आघात र सामाजिक समस्याबारे सचेतता गराएको छ । उदाहरणस्वरूप, हाल सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिने युवाका तस्बिर र भिडियोको गलत प्रचारले उनीहरूलाई भोलिका दिनमा थप कानुनी तथा नैतिक धरातलमा उभिन जटिलता देखाउन सक्छ ।

मनोसामाजिक प्रभाव र दीर्धकालीन चुनौती 

क. आत्मपहिचानमा पर्न सक्ने प्रभाव 

मनोसामाजिक विकासका सिद्धान्त अनुसार, बाल, किशोरावस्था र पूर्वयुवा अवस्थाको प्रमुख कार्य आत्मपहिचानको निर्माण गर्नु हो । जब युवा तनावपूर्ण र राजनीतीकरणले भरिएको वातावरणमा संलग्न हुन्छन्; उनीहरूले आफ्नो पहिचानको र समग्र विकास गर्ने अवसर गुमाउँदै जाने खतरा बढ्दै जान्छ । परिश्रम, पढाइ र रोजगारीमा जटिलता थपिन सक्छन्, जसले दीर्घकालीन रूपमा कमजोर पढाइ, नराम्रो जागिर आदि हुन जाने र त्यसको असरले पारिवारिक असन्तुष्टि र मानसिक समस्याले थप विकृति र स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।

ख. आत्मसम्मान र सामाजिक मान्यता

युवाको आत्मसम्मान प्रायः सामाजिक स्वीकृति र उपलब्धिमाथि आधारित हुन्छ । जब उनीहरू शान्तिपूर्ण र सफल कार्यमा सामेल हुन्छन् यस्तो अवस्थामा आत्मसम्मान बलियो हुन्छ । हिंसात्मक वा भौतिक विध्वंसात्मक व्रिmयालकापमा संलग्न हुँदा उनीहरूमा पछि गएर हीनता, दोषबोध र निराशा उत्पन्न भई उच्च मनोवैज्ञानिक आघात देखिने खतरा हुन सक्छ । जसको असर उनीहरूको क्षमता विकासमा पर्छ । समयमै मनोसामाजिक परामर्श गरिएन भने नेपालको यो पुस्ताले भोलिका दिनमा मानसिक आघातको सिकार बन्न सक्ने डर छ । 

ग. नकारात्मक प्रवृत्ति थप मैलाउने डर

अहिले उत्तेजनात्मक प्रभावमा लाग्दा अरूले पनि सिको गरेर युवालाई भविष्यमा समेत विषाक्त बनाउन सक्ने डर बढेको छ । कसैले आफ्नो लाभका लागि भोलिका दिनमा फेरि पनि यस्तै नकारात्मक प्रवृत्ति दोहो¥याउने डर छ । यसको परिणाम युवामा साथी साथीबिच आव्रmोश र अविश्वासको भावना बढ्न जाने खतरा देखिन्छ । यसले केवल व्यक्तिगत मानसिक स्वास्थ्य मात्र होइन, भोलिका दिनमा थप भौतिक क्षति र सामाजिक एकतालाई कमजोर बनाउन सक्छ । जसको फाइदा नेपालप्रति गलत सोच भएकाले सजिलै लिन सक्ने र यिनीहरूको उपयोग गरेर नेपालको आन्तरिक मामिलामा सधैँ खेल्न सक्ने डर छ । 

घ. बालबालिकामा दीर्घकालीन असर

राजनीतिक हिंसा र अस्थिरता झेलेका बालबालिका र युवामा उच्च तनाव, चिन्ता, त्रासपछिको मानसिक समस्या र सामाजिकीकरण हुन नसक्ने जस्ता लक्षण देखिने गरेको पाइन्छ । अनुसन्धानहरूले देखाउँछन् कि प्रारम्भिक उमेरको मानसिक आघातले भावनात्मक नियन्त्रण, अध्ययन र भविष्यको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ, जो समग्र मनोसामाजिक विकासका बाधक हुन जान्छन् ।

निष्कर्ष

नेपालको जेनजी आन्दोलनले युवा सहभागिताको सम्भावना र जोखिम दुवैलाई उजागर गरेको छ । यसले एकातिर सकारात्मक परिवर्तनको बाटो र भोलिको उज्यालो देखाउँदै गर्दा अर्कोतर्फ १८ वर्षमुनिका बालबालिकाको अधिकारप्रति गम्भीर प्रश्न उठाएको छ । परिवर्तनको चाहनाबाट उत्पन्न यो आन्दोलनले दुर्भाग्यवश कैयौँ होनहार वयस्क गुमाउँदै देशको ऐतिहासिक संरचना आफ्नै हातबाट नष्ट गर्न पुग्यो, जो उनका लागि सुदूरसम्म मानसिक पीडा बनेर बस्ने छ । आशा छ, यस आन्दोलनले भोलिका दिनमा बालअधिकारको संरक्षण गर्दै युवाको मानसिक सामाजिक विकासमा सहयोग गर्दै विकाससँग जोडेर स्थायी विकासवादी नैतिक नेतृत्व सुनिश्चित गर्ने छ ।

Author

डा. भोजबहादुर बलायर