• ३ असोज २०८२, शुक्रबार

पोखरा महानगरको सेवा सुरु, वडाहरु तयारीमा

blog

पोखरा महानगरले पोखरा ९ मा बनाएको नयाँ भवन । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, असोज ३ गते ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीले नष्ट भएको पोखरा महानगरले बिहीबारबाट सेवा आरम्भ गरेको छ । शुक्रबार संविधान दिवस र शनिबारको बिदामा व्यवस्थापनपछि आइतबारबाट सबैजसो सेवा सुरु हुने महानगरले जनाएको छ ।

३३ वटा वडा रहेको पोखरा महानगरका नौ वटा वडा कार्यालयमात्र सुरक्षित रहे । १४ पूर्ण र १० वटा वडा कार्यालयमा आंशिक क्षति भएको महानगर प्रवक्ता मोती तिम्सिना बताउनुहुन्छ । क्षति नभएका वडाहरुले काम सुरु गरिसकेका छन् । आंशिक क्षति भएका वडाहरु पनि सेवा सुरु गर्ने तयारीमा रहेको तिम्सिनाले बताउनुभयो ।

पोखराका वडा नम्बर २१, २२, २३, २४, २६, २७, २८, ३१ र ३३ मा कुनै क्षति भएको छैन भने वडा नम्बर ६, ७, १७, १८, १९, २०, २५, २९, ३० र ३२ मा आंशिक क्षति पुगेको छ । वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ का वडा कार्यालयहरु सेवा दिन नसक्ने अवस्थामा पुगेका छन् ।

न्युरोडको महानगर कार्यालय जलेपछि शान्तिवनमा दलकलका लागि बनाइएको नयाँ भवन र पोखरा सभागृहबाट सेवा आरम्भ गरिएको हो । पोखरा महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले ड्यामसाइड स्थित शिक्षा महाशाखा, सृजनाचोकमा रहेको सामाजिक विकास, लेखनाथको स्वास्थ्य, न्युरोडमा रहेको पूर्वाधार विकास, जनप्रिय क्याम्पस अगाडिको आर्थिक विकास महाशाखामा आन्दोलनमा खासै क्षति नभएको जानकारी दिनुभयो ।  

दमकलको भवनमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सार्वजनिक लेखा समिति, कानुन, सरसफाइ, सूचना प्रविधि र दमकलका कार्यालय स्थापना भएका छन् । सभागृहमा प्रशासन महाशाखा, भण्डार, तथ्याङ्क, विपद, उजुरी फर्छ्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा, नगर प्रहरी रहने छन् । सोही ठाउँमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रको भवनमा राजस्व र सहरी विकास महाशाखाको काम हुनेछ ।

कार्यालय खुलेको पहिलो दिन नै दिउँसो १ बजेसम्म सर्भरले काम गरेन । त्यसपछि पहिलो दिन नै ४७ जनाले कर तिरेको राजस्व प्रशासन महाशाखा प्रमुख नवराज पौडेलले जानकारी दिनुभयो । पोखरा १० बाट कर तिर्न महानगर पुग्नुभएका डिलबहादुर गुरुङले विकृतिविरुद्ध आन्दोलनमा नाममा राज्यकै सम्पत्ति नाश भएको देख्दा दुःख लागेको उल्लेख गर्नुभयो ।