• ३ असोज २०८२, शुक्रबार

ग्रामीण सडक कालोपत्रे हुँदा जनजीवन सहज

blog

कालोपत्रे भएको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), असोज ३ गते ।
लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडकहरु कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ । इस्मा, मुसिकोट, मालिका र बाग्लुङ्गको मध्ये पहाडी राजमार्ग समेत जोड्ने सडकमा बर्सा भए हिलो र हिउँदमा धुलोले निकै सास्ती हुने गर्दथ्यो ।

यो सडक तीन खण्डमा कालोपत्रेको काम भइरहेको छ । अहिले रातचौर र रातडाँडा खण्डमा कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दिपक विकले जानकारी दिनुभयो । करिव डेढ करोड रुपियाँको लागतमा रातचौरमा ४९० मिटर र रातडाँडामा ३७० मिटर कालोपत्रे सडक निर्माणको काम भएको छ ।

लामो समय सडक कालोपत्रे नहुँदा धुलो र हिलोबाट सास्ती खेपेका नागरिकलाई अहिले राहत महसुस भएको स्थानीय समेत रहनु भएका राजनीतिक अगुवा राममल्ल ठकुरीले बताउनुभयो । पहिलो खण्ड छल्दी–रातचौरको काम भने अझै भएको छैन । 

त्यस्तै, सदरमुकामबाट गाउँ जोडिएको बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडक स्तरोन्नतिसहित कालोपत्रेका काम भइरहेको छ । यो सडकले रेसुङ्गा नगरपालिका–३ बस्ती छिचोल्दै छल्दी–रातडाँडा सडकसँग जोड्छ । सदरमुकाम तम्घास जोड्ने छल्दी–रातडाँडा सडकको बैकल्पिक सडकको रुपमा बाख्रेछेडा–भाडगाउँ–रातडाँडा सडक हो । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले गत वैशाख १० गते योजना सम्झौता भएको बताउनुभयो ।

चौधरीका अनुसार दुई वर्षभित्रर भिमढुङ्गा–रामजाने–जयबाबा जेभी झण्डै छ किलोमिटर सडक कालोपत्रे गर्ने गरेर कुल १७ करोड ६८ लाख ७३ हजार ५७८ रुपियाँमा सम्झौता गरेको छ । अहिलेसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको छ । सम्झौता अनुसार सडक चौडा गर्र्नेे, ग्याभिङ्ग वाल निर्माण र नाली निर्माणको काम भइरहेको छ । इस्मा गाउँपालिकाको छल्दी हुँदै इस्मामैदान अर्खबाङ्ग सडकको विभिन्न खण्डमा कालोपत्रे भएको छ । मदनभण्डारी राजमार्गसँग जोडिएर इस्मा अमरपुर, मालिकाको अर्जे र घमिरको पहिलो खण्ड कालोपत्रे भएको छ ।

सेउघा–सिमाघाट–बर्बोट–पुर्कोटको अधिकांश भाग कालोपत्रे भएको छ । मदाने गाउँपालिका भित्रका पनि विभिन्न सडकमा कालोपत्रेको काम थालिएको छ । रेसुङ्गा नगरपालिकाले तीन बर्षमा ६५ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आफु निर्वाचित भएपछि आजसम्म विभिन्न वडाहरुमा गरेर ६५ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो ।

गुल्मीदरवारको चारपाल र गौडाकोट–मजुवा खण्ड, छत्रकोटको पिपलनेटाको भित्री सडक, भेडुवा, हुँगाका विभिन्न खण्डमा कालोपत्रे भएको छ । रुरुक्षेत्र गाउँपालिकाका बलेटक्सार रानीबास, थानपतीसहित भित्री सडकमा समेत कालोपत्रे र स्तरोन्नतीको काम भएको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । मुसिकोट नगरपालिकाभित्र मुख्य सडककसहित राक्से पौदी, सत्यवति गाउँपालिकामा पनि मुख्य सडकसहित सहायक राजमार्ग, चन्द्रकोट र कालिगण्डकीमा पनि मुख्य सडकसहित केहि सहायक सडक कालोपत्रे भएका छन् ।